श्रमिकहरुको हक अधिकार साथै जिम्मेवारी अनि श्रमिकहरुको हितमा बनाइएको कानुन विषय सचेतना
सोरेङ, २६ फरवरी । श्रम विभागको आयोजनामा सोरेङ महकुमा अन्तर्गत सोरेङस्थित सामुदायिक भवनमा आज श्रमिकहरुको हक अधिकार साथै जिम्मेवारी अनि श्रमिकहरुको हितमा बनाइएको कानुन विषय लिएर सचेतना कार्यक्रम सम्पन्न भयो। सोरेङ महकुमा अन्तर्गत विभिन्न विभागमा कार्यरत कर्मचारीहरुलाई समेटेर सम्पन्न सचेतना कार्यक्रममा राज्यका श्रम विभागका मन्त्री एमएन शेर्पा प्रमुख अथितिको रूपमा उपस्थित थिए। यस अतिरिक्त पब्लिक एकाउन्ट कमिटीका अध्यक्ष एवं विधायक आदित्य गोले विशिष्ट अथितिको रूपमा उपस्थित थिए भने श्रम विभागका अतिरिक्त आयुक्त डीएस कुवर, संयुक्त आयुक्त केआर लिम्बु, महकुमा अधिकारी हिम्मत राई, खण्ड विकास अधिकारीद्वय कैलाश गुरुङ र सबिता सुब्बा, महकुमा स्तरका विभागीय प्रमुख, जिल्ला तथा ग्राम पञ्चायत अनि विभिन्न विभागमा कार्यरत श्रमिक र कर्मचारीहरुको बाक्लो उपस्थिति थियो।
मुख्य अथितिको रूपमा उपस्थित श्रम विभागका मन्त्री एमएन शेर्पाले आफ्नो सम्बोधन गर्ने क्रममा राज्य सरकारले श्रमिकहरुको हितमा बीओसीडब्लु बोर्डमार्फत धेरै कल्याणकारी योजनाहरु तयार पारेको जानकारी दिँदै मन्त्री शेर्पाले राज्य सरकार श्रमिकहरुको सुरक्षा र हितको निम्ति प्राथमिकता दिएर काम गरिरहेको मन्तव्य उनले जाहेर गरे।
मन्त्री शेर्पाले अघि भने, श्रमिकहरुको हित र सुरक्षाको निम्ति श्रम विभाग अधिनस्थ बीओसीडब्लु बोर्ड रहेको अनि उक्त बोर्ड मार्फत २२ वटा श्रमिकहरुको हितमा कल्याणकारी योजना रहेको बताउँदै मन्त्री शेर्पाले श्रमिकहरुलाई यी योजनाको फाइदा उठाउन अनिवार्य रूपमा बोर्डमा पञ्जीकरण गरेमात्र उक्त योजनाबाट लाभान्वित हुनसक्ने पनि बताए। श्रम विभाग श्रमिकहरुको स्वास्थ्य विषय लिएर गम्भीर रहेको अनि प्रत्येक श्रमिकहरुको स्वास्थ्य जाँच गर्नको निम्ति मोबाइल भ्यान विभागले ल्याउने अनि मजदुरहरुको स्वास्थ्य नि:शुल्क जाँच गरिने भावी कार्यक्रम रहेको पनि मन्त्री शेर्पाले बताए।
बीओसीडब्लु बोर्डमा पञ्जीकृत श्रमिकहरुको निम्ति धेरै कल्याणकारी योजनाहरु छ, तपाईहरुले आफूलाई तल्लो दर्जाको कर्मचारी नसम्झिनु होस्। राज्यको विकासमा मजदुरहरुको महत्त्वपूर्ण भूमिका रहेको छ। श्रमिकहरुले सरकारबाट आफ्नो हक र अधिकार लिनुहोस् अनि आफ्नो जिम्मेवारीलाई निर्वाह गर्नुहोस्। सरकारले राम्रो काम गर्नेलाई रिवार्ड दिनेछ। सरकारद्घारा सञ्चालित सबै योजनाहरु ग्रामीण स्तरबाट लागु गरिँदैछ। सरकार श्रमिकहरुको सुरक्षाको निम्ति प्रतिबद्ध छ। मन्त्री शेर्पाले श्रमिकहरुलाई लक्षित गर्दै यसो भने।
मजदुरहरुको नानी मजदुर नहोस् भन्न खातिर श्रम विभागले मजदुरहरुको नानीलाई गान्तोकस्थित बीओसीडब्लु हस्टेलमा राखेर नि:शुल्क कलेज स्तरको शिक्षा प्रदान गर्ने सरकारको योजना रहेको पनि मन्त्री शेर्पाले बताए। अर्कोतिर मन्त्री शेर्पाले श्रमिकहरुलाई ड्युटीको समय मादक पदार्थ सेवन नगरि दिने अपिल गरे। उनले विभागले श्रमिकहरुलाई गुणात्मक औजार र सरसमानहरु पनि वितरण गरिने पनि बताए।
उल्लेख्य, मजदुरहरुको हितमा केन्द्र सरकारले लागु गरेको बीओसीडब्लु एक्ट-१९९६ सम्बन्धि राज्यका श्रमिकहरुलाई सचेतना र जागरुकता फैलाउन राज्यका श्रम विभागले आज महकुमा स्तरीय सचेतना कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा विधायक आदित्य गोले, श्रम विभागका अतिरिक्त आयुक्त डीएस कुवर, महकुमा अधिकारी हिम्मत राई र संयुक्त श्रम आयुक्त केआर सुब्बाले पनि सम्बोधन गरेको थियो।
आजै उर्जा एवं श्रम विभागका मन्त्री एमएन शेर्पाको अध्यक्ष्यतामा सोरेङस्थित उर्जा विभागको अथिति गृहमा उर्जा विभागको महकुमा स्तरीय समन्वय सभा सम्पन्न भयो। उक्त सभामा विधायक आदित्य गोले, उर्जा विभागका एसई जीवन थापा, खण्ड अभियान्ता के भोटिया, सहायक अभियान्ता बिनोद राई सँगसँगै कनिष्ठ अभियान्ता र उर्जा विभागका कर्मचारीहरुको उपस्थिति रहेको थियो
तपाइँकाे प्रतिक्रिया
