Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

श्रमिक दिवसको उपलक्ष्यमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना


राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिकको हकहित, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्दै विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपतिले दिनुभएको सन्देशमा मुलुकमा पूर्ण लोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान प्रकट गर्नुभएको छ।

सन्देशमा कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको वर्तमान परिवेशमा सामान्य जनजीवन र अर्थतन्त्रमा प्रतिकूल असर पारेकाले यसलाई दृष्टिगत गरी नेपाल सरकारको आगामी नीति तथा कार्यक्रम अघि बढ्ने र यसबाट श्रमिकको जीवन पनि सामान्य अवस्थामा फर्किने आशा गरिएको छ।

राष्ट्रपतिले कृषि क्षेत्रको श्रमलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पुर्याउने अपेक्षा लिएको बताउनुभयो।

Insert your Ads code here

सन्देशमा नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ भनिएको छ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले अबका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने बताउनुभएको छ। भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी विरुद्धको लडाईमा एक हुँदै श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ सम्पूर्ण प्रयास केन्द्रित हुने बताउनुभयो।

सबैभन्दा पहिले टुटेको उत्पादन सम्बन्धको कडीलाई जोड्ने र अवरुद्ध उत्पादन प्रणालीलाई सुचारु गरिने बताउँदै प्रधानमन्त्री ओलीले घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै नराख्ने र सरकारले भ्याएसम्म सुविधाको जोगावट गर्ने बताउनुभयो।

यस्तै प्रधानमन्त्री ओलीले मुलुकलाई अस्थिरतातर्फ धलेल्ने प्रयास भइरहेको र ती प्रयासमा केही सञ्चार माध्यमहरु पनि सहभागी भएको आरोप लगाउनुभएको छ। ‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ। एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो’, प्रधानमन्त्रीले भन्नुभयो। मुलुकको वर्तमान परिस्थितिलाई कसैले बिथोल्न खोजे सरकार नेकपाका कार्यकर्ता र आम नेपाली जनताले किमार्थ स्वीकार नगर्ने प्रधानमन्त्रीले बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!