संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराई भोलि (आइतबार) देखि निजामति सेवाबाट अवकाश पाउँदैछन्। झण्डै ४०वर्ष कर्मचारीको रुपमा काम गरेका भट्टराईको विदाईसँगै संघीय संसद सचिवालयको नयाँ महासचिव नियुक्तिको विषयले चर्चा पाएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले नयाँ महासचिव नियुक्ति नहुँदासम्मकालागि निमित्त महासचिवको रुपमा गोपालनाथ योगीलाई नियुक्त गरेका छन्। संसद सचिवालयमा कार्यरत सचिवहरुमध्ये योगीलाई वरियताका आधारमा जिम्मेवारी दिएको स्रोतको दाबी छ। जुन विषयका लागि सभामुख सापकोटाले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग समेत छलफल गरेका थिए।
यसअघि पनि भट्टराईले लामो समय विदा बस्न परेको समयमा योगीलाई नै कार्यवाहक छाडेर विदा बस्ने गरेका थिए। संसद सचिवालयमा वरियताका आधारमा पहिलो नम्बरमा भट्टराई, दोस्रो नम्बरमा योगी, तेस्रो नम्बरमा राजेन्द्र फुयाँल र चौंथो नम्बरमा भरतराज गाैतम र पाँचाै नम्बरमा ध्रुुुव घिमिरे रहेका हुन।
नयाँ महासचिव नियुक्त नहुँदासम्का लागि योगीलाई निमित्तको जिम्मेवारी सभामुख सापकोटाले दिएका छन्। महासचिवको रुपमा उनले ३ चैतदेखि काम सुरु गर्ने सचिवालय स्रोत बताउँछ। योगीले अहिले १ महिनासम्मका लागि निमित्तको रुपमा काम गर्नेछन्। एक महिनासम्म पनि नयाँ महासचिव नियुक्त नभएमा योगी स्वतः महासचिवमा नियुक्त हुनेछन्।