Loading... आजः शनिबार , श्रावण १२, २०८१

संसदमा दर्ता संविधान संशोधन प्रस्तावकोे पक्षमा काँग्रेसले मतदान गर्ने


प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्‍मा दर्ता भएको संविधान संशोधन प्रस्तावकोे पक्षमा मतदान गर्ने भएको छ।

कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्सा निशाना छापमा अद्यावधिक गर्न हुन लागेको संशोधनको पक्षमा मतदान गर्ने आज यहाँ पत्रकार सम्मेलन गरेर पार्टीले स्पष्ट पारेको हो।

पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, “नक्साको सन्दर्भमा कोही द्विविधा नभए हुन्छ, कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो, नेपालको अधिकार स्थापित हुनुपर्छ भन्ने जुन राजनीतिक दल (काँग्रेस)ले भन्दै आएको छ, त्यो दल नक्साको सन्दर्भमा प्रष्टरुपमा संसद्मा पक्षमा उभिन्छ, संस्थागत निर्णय गर्ने काँग्रेसको अधिकारको विषयलाई सुरक्षित रहन दिनुहोस्।”

Insert your Ads code here

सीमाको विषयमा राष्ट्रिय एकताका साथ सम्पादन गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै उहाँले यसमा काँग्रेस प्रतिपक्षी दलका रुपमा जिम्मेवार र संयमित भएर कार्य गरिरहेको बताउनुभयो। उहाँले विगतदेखि नै काँग्रेसले राख्दै आएको धारणाबमोजिम कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ भन्नुभयो।

नेपालको भूभागमा नेपालको हक कायम हुनुपर्छ भन्नेमा काँग्रेस प्रष्ट रहेको समेत उहाँले बताउनुभयो। नेपालको आफ्नो भूमिमा अधिकार स्थापित गर्ने सन्दर्भमा सरकारले जारी गरेको नक्सालाई सबैको स्वामित्वबोध गर्दै साझा सहमति निर्माण गर्नेगरी अघि बढ्न काँग्रेसले सरकारलाई आग्रह गरेको छ।

काँग्रेस उग्र अभिव्यक्तिभन्दा पहलकदमीमा तीव्रता गर्ने पार्टी हो भन्दै उहाँले नक्सा जारी भएकामा पार्टीले सकारात्मक दृष्टिकोण यसअघि नै सार्वजनिक गरिसकेको र यही १७ गते बस्ने केन्द्रीय कार्य समितिले संस्थागत निर्णय गर्नेसमेत उहाँले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “राष्ट्रियता जस्तो विषयमा हरेक दलबीच साझा स्वामित्व हुन सकोस्, कसैले पनि त्योभन्दा फरक रुपमा उभिनेखालको अवस्था नबनोस् भन्ने सन्देश दिन साझा प्रयत्न गर्ने जिम्मेवारीसमेत काँग्रेसकै हो।”

सर्वदलीय बैठकमा सहभागी भएर संस्थागतरुपमा निर्णय गर्नेछ भनेर काँग्रेसले भनेको अर्थ हामीलाई समय दिइयोस् भनी समय माग गरेको होइन भन्दै उहाँले संसद्मा शुरु भएको प्रक्रिया अवरुद्ध गर्नुपर्ने भन्ने माग विल्कुलै नभएको समेत उहाँले प्रष्ट पार्नुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसम्मतिका रुपमा पारित गरेर जाउँ भन्ने अभिव्यक्तिको काँग्रेसले सम्मान गरेको समेत उहाँले बताउनुभयो।

उहाँले सन् २०१५ मा भारत र चीनले सम्झौता गर्दै गर्दा तत्कालीन काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले चीन र भारत दुवै देशलाई कूटनीतिक नोट पठाएयता नै यो विषयमा केन्द्रमा आएको र राष्ट्रिय एकताको वातावरण निर्माण शुरु भएको उहाँले जिकिर गर्नुभयो।- (रासस)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!