सञ्चारमन्त्रीलाई फकाउँदै मिडिया मालिक
सञ्चार मन्त्री फेरिएलगत्तै ठूला मिडियाका मालिकहरु सल्बलाउन थालेका छन्। श्रमजीवीलाई सरकारले तोके अनुसार तलब नदिनका लागि उनीहरुले सञ्चारकोसहित जिम्मेवारी लिएका अर्थ मन्त्री युवराज खतिवडालाई अनेक प्रभावमा राख्ने प्रयास थालेका छन्। मन्त्रिमण्डल हेरफेरमा अर्कै सञ्चार मन्त्री आएको खण्डमा समेत फरक नपर्ने गरी लविंग सुरु गरेको खबर छ।
तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाको सक्रियतामा भएका केही राम्रा काममा मिडियामा कर्मचारी पत्रकारहरुको न्यूनतम पारिश्रमिकको लागि साहुजीहरुलाई दबाब दिनु परेको थियो। बास्कोटालाई समेत प्रभावित गर्न उनीहरुले नेकपाका विभिन्न शीर्ष नेतृत्वमार्फत दबाब दिएका थिए।
यो कामका लागि नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वलाई समेत अल्झाउने उनीहरुको रणनीति रहेको बुझिएको छ। तर, महासंघका पदाधिकारीहरु आफ्नै सदस्यहरुको विरुद्ध गएर निर्णय गर्ने सम्भावना कम रहेको छ।
खतिवडाले सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै मिडिया साहुहरुको संस्था नेपाल मिडिया सोसाइटीले भेटको लागि समय माग गरिसकेको छ। भेटमा कसरी आफ्ना तर्क राख्ने भन्दै शुभशंकर कँडेलसहितको टिमले होमवर्क गरिरहेको बुझिएको छ।
यही काममा ठूलो मिडिया कान्तिपुरका मालिक कैलाश सिरोहिया, सम्पादक सुधीर शर्माहरु समेत सक्रिय भई जुटेको चर्चा पत्रकारहरु गर्दैछन्। बास्कोटा मन्त्री हुँदा उनीहरुले यो विषयमा कुरा गर्नका लागि भेट समेत पाएका थिएनन्।
श्रमजीवीहरुलाई जति शोषण गरेपनि महंगा गाडी र सम्पत्ति जोड्ने काम भने कान्तिपुरले छोडेको छैन। विज्ञापन नआएको र पत्रिका ओरालो लागेको भन्दै कान्तिपुरले २०७६ फागुन ७ गते आफ्नो वार्षिकोत्सवमा इतिहासमै पहिलोपल्ट एक रुपैयाँ बोनस खुवाएन। तर, त्यही दिन साहुले नयाँ भित्र्याएको करीब ७ करोड रुपैयाँ पर्ने इलेक्टिक रेन्जरोभर गाडी देखेर पत्रकार कर्मचारी आश्चर्यमा परेका थिए। यो विषयमा केही पत्रकारले सम्पादक शर्मालाई व्यंग्य समेत सुनाएको एक पत्रकारले जानकारी दिए।
उता, सुधीर शर्मा भित्रिएपछि कान्तिपुरबाट बाहिरिएका पत्रकारहरु समेतको गठजोडमा नयाँ अनलाइन मिडिया चाडै आउने भएको बुझिएको छ। त्यसको नेतृत्व बालकृष्ण बस्नेतले गर्ने र बिजुलीबजारमा कार्यालय समेत स्थापना भएको बुझिएको छ।
अनलाइन टिभीसहित हुने मिडियामा कसले लगानी गरेको भन्ने स्रोत भने खुलेको छैन। पाँच महिनाको अवधिमा कान्तिपुरबाट सात जना पत्रकारले राजीनामा दिइसकेका छन्। यो समूहले कान्तिपुरका अरु पत्रकार पनि तान्ने तयारी गरेको थाहा भएको छ।
राजधानीमा विजोग
अर्को दैनिक पत्रिका राजधानीमा तलब नपाएर पत्रकार, कर्मचारी छटपटाउन थालेका छन्। पत्रकारहरु विकल्पको खोजीमा रहेको बताइएको छ। यो समाचार साँघु न्यूजबाट लिइएको हो।