सडक दुर्घटनाबाट नेपालमा वार्षिक पाँच हजारभन्दा बढीको मृत्यु
नेपालमा हरेक दिन औसत १४ जनाको सवारी दुर्घटनाका कारण ज्यान जाने गरेको अध्ययनले देखाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अध्ययनअनुसार वार्षिक पाँच हजार एक सय १५ जनाको ज्यान सडक दुर्घटनामा जाने गरेको छ। मृत्यु हुनेमध्ये ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला हुने गरेका नयाँ पत्रित्रका अनलाइनले लेखेको छ।
सरकारी तथ्यांकले भने दैनिक औसतमा आठजनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको देखाउँछ। वर्षमा दुई हजार आठ सयजनाको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ। दुर्घटना हुने कारणमध्ये चालकको लापरबाही, सवारी अतितीव्र गति, मादक पदार्थको सेवन, सवारीको यान्त्रिक गडबडीलगायत रहेका छन्।
संघीय संसद्को विकास तथा प्रविधि समिति गठन गरेको ‘सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमिति’ले सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवी चालकको कमी, मापदण्डविपरीत बनेका सडक संरचना, सवारीसाधन प्रयोगकर्तामा सवारी नियमको ज्ञानको अभावलगायतका कारणले पनि दुर्घटना बढेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, सवारीसाधनको कमजोर अवस्था, सडक प्रयोगकर्ताको लापरबाही सडक दुर्घटना निम्त्याउने कारण बनेका छन्। विशेषगरी साँघुरा र मापदण्डविना निर्माण गरिएका सडकले दुर्घटना गराउन आधार तयार गर्ने गरेका छन्।
राजधानीलगायत सहरी क्षेत्रमा सवारीको अत्यधिक चाप, कमजोर ट्राफिक व्यवस्थापन, सहरी मापदण्डअनुसारको गुणस्तरीय सडकको अभाव, चालकको लापरबाही, यात्रुहरूको जथाभावी सडक काट्ने प्रवृत्ति, सडकका पेटीहरूको अतिक्रमण, पुराना सवारीको बाहुल्यता, ट्राफिक संकेतको अभावलगायतका कारण सवारी दुर्घटना बढ्ने गरेको प्रतिवेदनमा उल्लेख छ।
सवारी दुर्घटना दिनप्रतिदिन वृद्धि हुँदै गए पनि यसलाई न्यूनीकरण गर्ने प्रयास निकै कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ। यसका लागि सवारी सुरक्षासम्बन्धी दीर्घकालीन रणनीतिको खाँचो रहेकोमा जोड दिइएको छ। केही कार्ययोजना भइहाले पनि कार्यान्वयनको पक्ष अत्यन्त फितलो रहेको प्रतिवेदनले औँल्याएको छ। उपसमितिको प्रतिवेदनमा सडक दुर्घटनाले खासगरी आर्थिक क्रियाकलापमा संलग्न सक्रिय जनशक्तिलाई असर पार्ने उल्लेख गरेको छ। ‘यसले दिनानुदिन राज्यले उत्पादनशील नागरिक गुमाइरहेको वा उनीहरूलाई क्षमताविहीन बनाइरहेको छ’ उल्लेख छ। दुर्घटनापछिको उद्धारका लागि जनशक्ति, उपकरण र अन्य साधनको अभावका कारण पनि दुर्घटनाबाट ज्यान जानेको संख्या बढ्दै गएको पाइएको छ।
उपसमितिले अन्तर्राष्ट्रिय सफल अभ्यासको अध्ययनबाट सडक सुरक्षालाई वृद्धि गरी दुर्घटना न्यूनीकरण गर्न अधिकारसम्पन्न सडक सुरक्षा परिषद् गठन गर्न सरकारसमक्ष सिफारिस गरेको छ। नेपालमा सडक सुरक्षासम्बन्धी कार्य गर्ने निकायहरू धेरै भएकाले काममा दोहोरोपन, समन्वयको अभाव, अधिकार क्षेत्रमा विवादलगायतका कारण प्रभावकारी काम गर्न पनि यस्तो निकाय आवश्यक रहेको उपसमितिका संयोजक गणेशकुमार पहाडीले बताउनुभयो।
सवारी दुर्घटनामा सबैभन्दा बढी सिकार पैदलयात्रु हुने गरेका छन्। सवारीचालकको लापरबाही र पैदलयात्रीमा सवारी सचेतनाको कमीका कारण उनीहरूको बढी ज्यान जाने गरेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ। त्यसबाहेक सडकमा रहको चौपाया, सवारीको तीव्र गतिको कारण पनि पैदलयात्रीको ज्यान जाने गरेको छ। उपसमितिले १५ वटा बैठक बसी करिब २२ घन्टा समय लगाएर प्रतिवेदन तयार गरेको हो। ४ पुस ०७६ मा विकास तथा प्रविधि समितिको ६४औँ बैठकले उपसमितिको गठन गरेको थियो। उपसमितिले ११ पुसमा पहिलो बैठक बसी आफ्नो कार्य प्रारम्भ गरेको थियो। उपसमितिका संयोजक गणेशकुमार पहाडी हुनुहुन्छ सदस्यहरूमा गौरिशंकर चौधरी, दुर्गा पौडेल, यज्ञराज सुनुवार र रंगमती शाही हुनुहुन्छ। उपसमितिले सरोकारवाला, विज्ञ र नीति–निर्मातासँग बसेर यो प्रतिवेदन तयार गरेको हो।
लकडाउन खुकुलो भएसँगै उपत्यकामा सवारी दुर्घटनामा वृद्धि भएको छ। यस अवधिमा ५९ प्रतिशतले दुर्घटना बढेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार लकडाउन खुकुलो हुनुअघि उपत्यकामा सरदर दैनिक सातवटा सवारी दुर्घटना हुने गरेका थिए, अहिले १७ पुगेको छ। ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले लकडाउन खुकुलो भएयता सवारी दुर्घटनाको संख्या बढेको जानकारी दिनुभयो। ‘लकडाउन अवधिमा प्रत्येक दिन हुने सवारी दुर्घटना र अहिलेको तथ्यांक हामीले विश्लेषण गरेका छौँ। अध्ययनले पछिल्लो समय सवारी दुर्घटना बढेको देखाउँछ। सवारीसाधनको चाप बढ्नु नै दुर्घटनाको मुख्य कारण हो। त्यसबाहेक खुला सडक र चालकको लापरबाही जिम्मेवार देखिन्छ,’ उहाँले भन्नुभयो।
नेपाल सरकारले १ असारबाट लकडाउन खुकुलो गर्ने नीति लिएको थियो। लकडाउन खुकुलो भएसँगै उद्योग, कलकारखाना, किराना पसल, कपडा पसल, फलफूल बिक्री केन्द्र, कृषिजन्य पदार्थ उत्पादन तथा बिक्री केन्द्र, विकास निर्माणलगायतका काम सुरु भएका छन्। योसँगै निजी सवारीसाधन जोर–बिजोर नम्बर प्रणालीका आधारमा सञ्चालनमा आएका छन्। सार्वजनिक तथा विद्यालयका सवारीसाधन भने यस अवधिमा सञ्चालन हुन सकेका छैनन्।
महाशाखाका अनुसार लकडाउनमा दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने घटेको छ। लकडाउन खुकुलो हुनुअघि उपत्यकामा भएका सवारी दुर्घटनामा प्रत्येक तीन दिनमा एकजनाको ज्यान जाने गरेको थियो। खुकुलो बनाइएपछिको १५ दिनमा दुईजनाको मात्रै मृत्यु भएको देखिन्छ। दुर्घटनामा परी घाइते हुनेको संख्या पनि बढेको छ। लकडाउन कडाइ अवधिमा भएको सवारी दुर्घटनामा प्रत्येक दिन तीनजना घाइते हुने गर्थे। खुकुलो भएयता भने प्रत्येक दिन १३ जना घाइते हुने गरेको देखिएको छ। महाशाखाका अनुसार दुर्घटनामा पर्ने अधिकांश मोटरसाइकल र त्यसमा सवार यात्रु नै घाइते भएका छन्। लकडाउन खुकुलोपछिको १५ दिनमा दुई सय ६० दुर्घटना भएका छन्। जसबाट दुईको मृत्यु र ६ जना घाइते भएका छन्। ट्राफिक प्रहरी महाशाखाका अनुसार एक सय ८२ जना सामान्य घाइते भएका छन्।
‘दुर्घटना मात्र होइन, घाइते हुने दर पनि बढेको देखिन्छ। दुर्घटना हुने अधिकांश मोटरसाइकल छन् र घाइते हुने पनि मोटरसाइकलमै सवार यात्रु धेरै छन्,’ महाशाखा प्रमुख एसएसपी ढकालले भन्नुभयो, ‘तर, मृत्यु हुने संख्या भने घटेको छ।’ ट्राफिक महाशाखाका अनुसार उपत्यकामा सामान्य अवस्थामा प्रत्येक दिन १६ दुर्घटना हुने गर्थे। जसमा सरदर एकजनाको ज्यान जाने गर्थ्यो। दुर्घटना हुने धेरै सवारीसाधन मोटरसाइकल नै थिए। दुर्घटनाको मुख्य कारण चालकको लापरबाही, मादक पदार्थ सेवन, ओभर स्पिड नै हुने ट्राफिक प्रहरीको भनाइ छ।
लकडाउन अवधिमा प्रत्येक दिन हुने सवारी दुर्घटना र अहिलेको तथ्यांक हामीले विश्लेषण गरेका छौँ। अध्ययनले पछिल्लो समय सवारी दुर्घटना बढेको देखाउँछ। सवारीसाधनको चाप बढ्नु नै दुर्घटनाको मुख्य कारण हो। त्यसबाहेक खुला सडक र चालकको लापरबाही जिम्मेवार देखिन्छ।