Loading... आजः शनिबार , श्रावण १२, २०८१

सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा


नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र (अप्रिल) उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ। १० मेगावाट चैत (मार्च) र बाँकी ५ मेगावाट वैशाखभित्रमा उत्पादन गरिने छ। बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचाहन गरी निर्माण अगाडि बढाइएको छ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ।

विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ। एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुने छ। एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ। देविघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६/३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी लगायतको टोलीले शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मितिलगायतका विषयमा छलफल गरेको छ।

Insert your Ads code here

कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक व्यवस्था तत्काल गर्न निर्देशन दिनुभयो।

‘सोलार प्यानल जडान अन्तिम चरणमा पुगेकाले १५ मेगावाट विद्युत् वैशाखभित्रमा उत्पादन हुने देखिन्छ, प्रसारण लाइन नभएको र सबस्टेसन निर्माण नभएको कारण देखाएर आयोजनाबाट उत्पादन हुने विद्युत् खेर फाल्न सकिंदैन/हुँदैन, त्यसैले संचालनमा रहेको ३३ केभी फिडरमा लाइन जोड्ने आवश्यक व्यवस्था गर्नुहोस्’, घिसिङले आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई भन्नुभयो।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५को वैशाखमा आयोजनाको शिलान्यास गर्नुभएको थियो। त्यतिवेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रुख कटानलगायतका कारणले ढिलाइ भएको हो।

आयोजना प्रमुख विकास बहादुर रघुबंशीकाअनुसार, डिजाइनर स्पेन र परामर्शदाता जर्मनीमा बस्ने तर साइटमा परिचालित नभइदिंदा डिजाइनलाई अन्तिमरुप दिन ढिलाइ भएको थियो।

सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्ने छ। कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!