Loading... आजः शनिबार , श्रावण १२, २०८१

सबै देशबाट नेपाल भित्रिने यात्रुहरुको विमानस्थलमा ज्वरो जाँच गरिने


नेपाल सरकारले कोरोनाभाइरसको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने भएको छ। शनिबार बालुवाटारस्थित प्रधानमन्त्रीले बोलाउनु भएको छलफलमा कोरोना रोकथामको पूर्वतयारीको लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन भएको सेतोपाटी अनलाइनले लेखेको छ।

गृह, पर्यटन, स्वास्थ्य, अर्थ र शिक्षा मन्त्री समेत रहेको सो समितिले अब कोरोनासम्बन्धि आवश्यक निर्णय लिने पर्यटनमन्त्री योगेश भट्टराईले बताउनुभयो। ‘अहिलेलाई विमानस्थलमा जाँच बढाउने, थप औषधी भण्डारण गर्ने, हेल्थ डेस्कमा स्वास्थ्यकर्मी थप्ने निर्णय भएको छ,’ मन्त्री भट्टराईले भन्नुभयो।

छलफलमा कोरोनाको संक्रमण फैलिएको देशहरुसँगको हवाई सेवा बन्द गर्ने विषयमा पनि कुराकानी भएको थियो। अब परिस्थिति हेरेर आवश्यक परे हवाई सेवा बन्द गर्ने निर्णय पनि समितिले नै गर्ने भट्टराईले जनाउनुभयो।

Insert your Ads code here

समितिको निर्णयसँगै अब नेपाल आउने सबै विदेशी यात्रुहरूको ज्वरो मापन गरिनेछ। जाँचको क्रममा यात्रुको ज्वरो १०० डिग्री फरेनहाइटभन्दा माथि देखिए आइसोलेसन कक्षमा पठाइने स्रोतले जानकारी दिएका छन्। यसअगाडि चीन, कोरिया, हङकङ, जापान र मलेसियाबाट आउने यात्रुको मात्र ज्वरो जाँच गरिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यी पाँच मुलुकबाट आउने यात्रुको ज्वरो जाँच गर्न भनेर दुईटा थर्मल स्क्यानर जडान गरिएको थियो। तर जडान गरेको दुई हप्ता नबित्दै एउटा स्क्यानर बिग्रिएपछि अहिले एउटा स्क्यानरले मात्र काम गरिरहेको छ।

अब सबै देशबाट नेपाल आउने यात्रुहरूको एउटा थर्मल स्क्यानरबाट जाँच गर्दा यात्रुलाई केही सास्ती हुनेछ। सबैलाई लाइन लगाएर एउटा स्क्यानरबाट जाँच गर्दा ढिला हुने हेल्थ डेस्कमा खटिएका एक स्वास्थ्यकर्मीले जनाए।

स्वास्थ्य मन्त्रालयले विमानस्थलमा थप दुईटा थर्मल स्क्यानर जडान गर्नको लागि खरिद प्रकृया अघि बढाइसकेको छ। अब एक हप्ताभित्रै दुईटा थर्मल स्क्यानर आइपुग्ने स्रोतले बताए।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई पनि कोरोनाभाइरसको उच्च जोखिममा राखेपछि प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा छलफल डाक्नु भएको थियो।

नेपालमा अहिलेसम्म एकजना व्यक्तिमा मात्र कोरोनाभाइरसको संक्रमण भेटिएको छ। गत फागुन ४ गते चीनबाट उद्दार गरेर ल्याइएका १ सय ७५ जना नेपालीमा पहिलो स्वास्थ्य जाँचमा कोरोनाको संक्रमण देखिएको छैन।

खरिपाटीस्थि क्वारेन्टाइनमा रहेको उनीहरूको अन्तिम स्वास्थ्य परीक्षणको लागि घाँटी र नाकको र्यालको नमूना संकलन गरिएको छ। दुईदिनपछि आउने नतिजामा कोरोनाको संक्रमण नदेखिएकालाई सरकारले घर पठाउने छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!