Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफल सुरु


सरकारको नीति तथा कार्यक्रममा आइतबारदेखि संसदमा छलफल सुरु भएको छ। संसदीय प्रचलनअनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन्। त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरूले आफ्ना धारणा राख्नेछन्। नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिन छलफल गरेर मंगलबार प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ।

यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुभएको थियो। कोरोना संक्रमणका कारण यसवर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिइएको छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण नीति तथा कार्यक्रममाथिको छलफल छोट्याउने निर्णय शनिबारको कार्यव्यवस्था समितिको बैठकले गरेको थियो । नेकपा नेतृ रेखा शर्माले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले धेरै दिनसम्म बैठक बसिरहनु उपयुक्त नहुने भएकाले छलफल छोट्याउने निर्णय भएको जानकारी दिनुभयो।

नीति तथा कार्यक्रममा धारणा राख्न चाहने सांसदहरूको नामावली दलहरूले सभामुखलाई उपलब्ध गराउने र बैठकमा सभामुखले ती सांसदहरूलाई बोल्न दिने प्रचलन छ। अघिल्ला बैठकहरूमा बोल्न नपाएको भन्दै सांसदहरूले आक्रोश पोखेका थिए। नीति तथा कार्यक्रममाथिको छलफलमा पनि त्यस्तै हुन सक्ने अनुमान गरिएको छ । त्यसैले, शनिबारको कार्यव्यवस्था समितिको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सकेसम्म थोरै नाम उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!