सरकारले आगामी ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने भएको छ। अहिलेसम्म २७ लाखभन्दा बढी नागरिकको स्वास्थ्य बिमा भइसकेको र तीन वर्षभित्र बाँकी नागरिकको पनि गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नुभयो। राष्ट्रपति भण्डारीले स्वास्थ बिमा कार्यक्रममा आधारभूतबाहेकका स्वास्थ्य सेवा क्रमश: समावेश गर्दै लगिने पनि जनाउनुभयो। आव ०७२/७३ मा नमुनाका रूपमा ३ जिल्लाबाट सुरु भएको यो कार्यक्रम हालसम्म ५१ जिल्लामा पुगेको छ । कार्यक्रम सुरु गर्दा पनि तीन वर्षमा सबै नेपालीको स्वास्थ्य बिमा गर्ने योजना थियो। अहिले सरकारले यही कार्यक्रमलाई पुन: निरन्तरता दिएको हो। काम प्रभावकारी नहुनु, दक्ष कर्मचारीको अभाव, नेतृत्व चयनमा ढिलासुस्तीलगायत कारण बोर्डले राम्रोसँग काम गर्न सकेको छैन।
गरिब, विपन्नलगायत लक्षित वर्गका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले सरकारले करिब पाँच वर्षअघि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो। ०७२ चैतदेखि नमुनाका रूपमा कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो। त्यति बेला सरकारले आगामी तीन वर्षभत्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने घोषणा गरेको थियो। तोकिएको अवधि सकिएको दुई वर्षभन्दा बढी भइसक्दा पनि सरकारको लक्ष्य पूरा भएको छैन।
मुलुकभर स्वास्थ्य बिमा कार्यक्रम नपुग्दा ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रम पनि प्रभावकारी हुन सकेको छैन। ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई १ लाख रुपैयाँसम्मको नि:शुल्क स्वास्थ्य बिमा गर्ने उद्देश्यले ०७६ वैशाखदेखि कार्यक्रम सुरु भएको हो।