Loading... आजः शनिबार , श्रावण १२, २०८१

सरकारविरुद्धका प्रचारबाजी बेमौसमी बाजा मात्र: प्रधानमन्त्री केपी शर्मा ओली


नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन बन्दाबन्दीबाट दैनिक कामगरी खाने तथा अन्यमा परेको असुविधाप्रति आफू चिन्तित रहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले आज मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो कुरा बताउनु भएको गोरखापत्र अनलाइनले लेखेको छ।

सम्बोधनमा सिङ्गोको मानव सभ्यता प्रभावित भएको र विश्वमा केही नेपाली सहित धेरैले ज्यन गुमाएको सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितको स्वास्थ्य लाभको कामना गर्नु भएको छ।

हाम्रो पुस्ताले भोगेको कठिन युद्धमा यसको लडाइँमा रहेको भन्दै प्रमले विश्व समुदायप्रति एक्वद्धता जनउनु भएको छ।

Insert your Ads code here

प्रधानमन्त्री ओलीले आफू लामो समय एकान्तवास बसेकाले यो समय निक्कै पिडादायी भएको बताउनु भएको हो। प्रधानमन्त्री खोप पत्ता लगाउन नसकेको अवस्थामा लक डाउननै अन्तिम विकल्प भएको सरकारले समेत बुझेकाले आजवाट ८ दिनको लागि लकडाउन बढाउन बाध्य भएको बताउनु भएको छ।

उहाँले बाकी अवधिका लागि सहयोग र धैर्य कायम गर्न समेत आम नागरिकहरुलाई अनुरोध समेत गर्नुभएको छ। उहाँले सिमित औषधी र स्वास्थ्य सामाग्रीकोमा समेत नेपालले गरेको काम निक्कै सर्हानिय छन्। यतीबेला चर्को घाम र रातको अध्यारोमा समेत नागरिकको स्वास्थ्यमा ख्याल गर्ने सुरक्षाकर्मीलाइ सहयोग गर्ने अनुरोध गर्नुभएको छ।

यो संकटका बेला प्रदेश र स्थानीय सरकारको भुमिका कस्तो रहने रहेछ भनेर आम नागरिकमाथि प्रष्ट भएको उहाँले बताउनु भएको छ। उहाँले सरकारले कोरोना नियन्त्रण तथा भोकमरीजस्ता समस्या समाधानका लागि जनप्रतिनिधिले गरेको काम प्रति सम्बोधनका क्रममा सम्मान व्यक्त गर्नुभयो।

प्रधानमन्त्रीकाे सम्बाेधनका विषयमा विभिन्न समाचार माध्यमले अा-अाफ्नै तरिकाले समाचार सार्वजनिक गरेका छन्। अनलाइन खबर लेख्छ: केही दिनको मौनता तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पब्लिक डिमान्ड’ अनुसार आज देशवासीका नाममा सम्बोधन गरे। कोरोनाबाट बच्न सरकारले लकडाउन गरेपछि उनको यो दोस्रो सम्बोधन थियो। सन्तोषको कुरा, उनी अघिल्लोपटक भन्दा स्वस्थ र आत्मविश्वासी देखिए। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा कोरोनाको प्रकोपसँग लड्ने सरकारले गरेका प्रयासहरूको बेलिबिस्तार लगाउँदै सरकारमाथि लागेका विभिन्न आरोपहरूको बचाउसमेत गरे। उनले अबका दुई साता चुनौतीपूर्ण हुने भन्दै त्यसका लागि तयार रहन सन्देश दिए। यसको आशय ३ बैशाखपछि पनि लकडाउन एक साता थपिने अनुमान कतिपयले गरेका छन्। तर, अहिलेलाई यो अनुमान मात्रै हो।

प्रधानमन्त्रीले दुई साता चुनौतीपूर्ण हुने सम्भवत: यस अर्थमा भनेका हुन् कि यो अवधिमा नेपालमा कोरोना समुदायमा फैलिएन भने नेपाल धेरै हदसम्म सुरक्षित रहनसक्छ। फैलियो भने भयावह अवस्था आउनसक्छ। लकडाउन थपिने/नथपिने कुरा सम्भवत: यीमध्ये कुन बाटोमा देश जान्छ भन्नेमा निर्भर रहने छ।

प्रधानमन्त्रीको सम्बोधनमा अपेक्षित विषय भनेको भारतीय सीमा नाकामा अलपत्र अवस्थामा रहेका नेपालीहरुको उद्दार कसरी हुन्छ भन्ने थियो। संकटको घडीमा आफ्नो घर फर्किन खोज्नेहरुलाई देशको ढोका बन्द गर्नुहुँदैन भनेर आवाज उठिरहेका छन्। सरकारले भने राष्ट्रियताको बहकाउमा लागेर सिङ्गो देशलाई संकटमा धकेल्न नसकिने बताउँदै आएको छ।

प्रधानमन्त्रीले यो विषयलाई सम्बोधन गरेपनि समाधानको नयाँ सूत्र पहिल्याएनन्। उनले सीमापारी क्वारेन्टाइनमा रहेका नेपाली र नेपालले आफ्नो सीमाभित्र क्वारेन्टाइनमा राखेका विदेशीहरुको आँकडा प्रस्तुत गरे । नेपालले विदेशीहरुलाई सक्दो राम्रो वातावरणमा राखेको भन्दै उनले अन्य देशले पनि नेपालीहरुलाई त्यस्तै संरक्षण दिने आशा पनि व्यक्त गरे।

प्रधानमन्त्रीको सम्बोधनले आलोचकहरुको चित्त बुझायो कि विथोल्यो त ? सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन् तर, भारतले कथित क्वारेन्टाइनका नाममा नेपालीहरुलाई नर्कतुल्य अवस्थामा राखेको समाचारहरु आइरहेका छन्। उनीहरुले खाना मात्रै होइन पानी पनि पाइरहेका छैनन्। यसतर्फ आवश्यक संवेदनशीलता देखाउन प्रधानमन्त्री चुके। जुनसुकै देशमा रहे पनि हरेक नागरिकको अभिभावक राज्य नै हो भन्ने अनुभूति दिलाउन सकेनन्। अविश्वसनीय छिमेकीले आफ्ना नागरिकको संरक्षण गरिदेला भन्ने विश्वास व्यक्त गर्नु प्रधानमन्त्रीको लाचारीपन मात्र हो।

मेडिकल सामग्रीहरुको आपूर्तिका विषयमा उत्पन्न भएको विवादमा प्रधानमन्त्रीले अमूर्त भाषा बोले। प्रसंग नकोट्याइकन उनले ‘सरकारले भ्रष्टाचार नसहने’ आफ्नो पुरानै रटान दोहोर्‍याए। पीपीई लगायतका सामग्री खरिदमा ‘भ्रष्टाचार’ भएको आरोपलाई प्रधानमन्त्रीको यो ओठे प्रतिबद्धताले मात्रै मत्थर पार्न सक्नेछैन।

सम्बोधनको अर्को महत्वपूर्ण पाटो भनेको उनले मान्छेको जीवन र वैयक्तिक स्वतन्त्रतामा कुन ठूलो भन्ने प्रश्न गरे र उत्तर आफैँले दिए : जीवन ठूलो हो। कोरोनाविरुद्धको लडाइँका नाममा सरकारले वैयक्तिक स्वतन्त्रतालाई कुल्चिन खोजेको भन्ने आरोपलाई जवाफ दिँदै उनले संकटको यस्तो बेला वैयक्तिक स्वतन्त्रता महत्वपूर्ण नभएको स्पष्ट आशय प्रकट गरे। उनले अहिलेको अवस्थालाई उनले ७२ सालको भूकम्पपछिको अवस्थासँग तुलना गरे।

प्रधानमन्त्रीको सम्बोधनमा ‘नयाँ कुरा’ घोषणा केही आएन। त्यसो त सरकारले कुनै पनि नयाँ निर्णय गर्दा मन्त्रिपरिषद्का प्रवक्तामार्फत त्यसलाई सार्वजनिक गरिहाल्ने प्रचलन भएकाले प्रधानमन्त्रीसँग नयाँ कुरा थिएनन् पनि। यद्यपि, प्रधानमन्त्रीले टेलिभिजनमा बोलिसकेपछि कुनै न कुनै नयाँ घोषणा आउनुपर्थ्यो।

सरकारले कोरोनासँग लड्न पर्याप्त कोसिसहरु गरिरहेको छ भन्ने भान पार्नचाहिँ सम्बोधन केही हदसम्म सफल थियो । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको प्रशंसा गरेर उनीहरुको मनोबल बढाउने प्रयास पनि गरे। नेपालमा नौ जनामा मात्रै कोरोना देखिनुलाई सरकारको सफलताको रुपमा उल्लेख गर्दै अझै पनि उच्च जोखिममा रहेको बताए। संकटकाबीच पनि अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास भइरहेको जानकारी दिए।

सरकार र आफूमाथि भइरहेका आलोचनाहरुप्रति प्रधानमन्त्री ओली कठोर नै देखिए। सामाजिक सञ्जालमा व्यक्त भएका मतहरुप्रति आफ्नो ध्यान गएको बताए पनि उनले त्यसलाई सकारात्मक ढंगले ग्रहण गरेको देखिएन। उनले भने, ‘सरकारविरुद्धका प्रचारबाजी बेमौसमी बाजा मात्र हुन्।’

यसैगरी नेपाल बहस डटकमले “ओलीको सम्बोधन कुण्ठा र दूराग्रहको पोको” शीर्षकमा लेखेको छ: कोरोना भाइरसले ल्याएको संकटसँग पौंठाजोरी खेल्न संसार भिडिरहेको छ। नेपाल पनि बिगत दुई सातादेखि जोडतोडका साथ एकताबद्ध ढंगले कोरोना हराउन सक्रिय देखिएको छ। सरकारले घोषणा गरेका हरेक कार्यक्रम र आह्वानलाई नागरिकले पूर्णतः साथ र समर्थन गरेका छन्। यसै पृष्ठभूमिमा प्रधानमन्त्री केपी ओलीले आज नागरिकलाई थप आश्वस्त पार्ने कार्यक्रमको घोषणा गर्ने आम अपेक्षा थियो।

बिहान ११ बजे राष्ट्रको नाममा प्रधानमन्त्रीले संबोधन गर्ने भनेर हिजैदेखि तामझाम गरिएको हो। त्यसैले जनताले सरकारबाट विशेष कार्यक्रमको घोषणा हुने अपेक्षा राख्नु स्वाभाविक थियो। प्रधानमन्त्रीले पूर्व निर्धारित कार्यक्रम बमोजिम ११ बजेर ५ मिनेट जाँदा सरकारी टेलिभिजनमार्फत संबोधन गरे। करिब आधा घण्टाको उनको संबोधनले आम नागरिकलाई उत्साहित पार्ने केही दिन सकेन। बरु उनका कुण्ठा र दम्भपूर्ण अभिव्यक्ति भने सुन्न पाइयो।

सम्बोधनको पूर्ण पाठ –

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,

आज सिङ्गो मानवजाति कोभिड-१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सङ्क्रमितहरु निको भएर घर फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु । हाम्रो पुस्ताले भोगेको सर्वाधिक गंभीर चुनौतीमध्येको यस महामारी विरुद्ध कठिन लडाइँमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछु ।

नेपाल पनि कोरोना विरुद्धको लडाइँमा होमिएको छ। देशमा सङ्क्रमणको पहिलो केस पहिचान भएदेखि यता तपाई हाम्रो साझा प्रयत्नले संक्रमितहरुको संख्या ९ जनामा मात्र सीमित गर्न सकिएता पनि हामी उच्च जोखिममा छौं।

दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाइँहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु । दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नु पर्ने श्रमिकहरु सर्वाधिक मर्कामा हुनुहुन्छ । धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्नु परेको छ । विद्यार्थीहरुको पढाइ छुटेको छ । जेलमा यन्त्रणापूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु ।

तर नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने तपाइँहरु सबैलाई थाहा छ । लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयाशमा ठूलो सहयोग पुगेको छ । तर समस्या अझै यथावत छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदैछ । त्यसैले आजबाट थप ८ दिनको लागि लकडाउनको अवधि बढाउन हामी वाध्य भएका छौं । सबै कठिनाइहरु झेलेर यस अभियानमा पूर्ण साथ दिनु हुने तपाइँहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्यता र सहयोगका लागि अनुरोध गर्दछु ।

सीमित पूर्वाधार, स्वास्थ्यसामग्री तथा उपकरणका बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रीम मोर्चामा संलग्न सबै राष्ट्रसेवकहरुले देखाउनु भएको कर्तव्यपरायणता सराहनीय छ । हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरु दिउँसोको चर्को घाम होस् या रातिको अँध्यारो, निरन्तर सेवामा खटिइरहनु भएको छ । मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव एवं कतिपय अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरुले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपाई हामीलाई यस महामारी बिरुद्ध लड्न थप हौसला मिलेको छ ।

यस्ता सङ्कटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरुको भूमिका कति प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट देखिएको छ । म आ–आफ्नो तहमा सङ्क्रमण फैलिन नदिन र विपन्न परिवारहरुलाई राहत पुर्‍याउन अहोरात्र खटिरहनु भएका जनप्रतिनिधिहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । यस क्रममा स्थानीय समुदायहरु र सामाजिक सङ्घसंस्थाहरुको क्रियाशीलता पनि उल्लेखनीय रहेको छ ।

बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एकजनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौं । यसले थप सजगता र सावधानीको माग गरेको छ । महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समग्र कामको अगुवाइ गरिरहेको छ । यसका अतिरिक्त, आम जनसमुदाय, राजनीतिककर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरुको संयुक्त ‘कमाण्ड’को रुपमा ‘कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)’ स्थापना गरिएको छ । यसले युद्धस्तरमा कामको समन्वय, निर्देशन र सम्पादन गर्छ । पहिचान गर्ने, परीक्षण गर्ने र उपचार गर्ने सबै कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्न यसका ४ संरचना (अप्स) खडा गरिएको छ । बिरामी ओसारपसार (पिआरटी) को उपयुक्त व्यवस्था गरिएको छ ।

सिसिएमसी, हामी सबैको साझेदारीमा सञ्चालन हुने संरचना हो । .मुख्यमन्त्रीको संयोजनमा प्रदेश तहमा र स्थानीय तहको वडास्तरसम्मै यस संरचनाको सञ्जाल निर्माण गरिएको छ । स्थानीय तहका वडास्तरसम्म वडा अध्यक्षको संयोजनमा हुने संयन्त्रले आप्mनो वडामा सरकारद्वारा घोषित राहत वितरण गर्नेछ । बिरामी छन्÷छैनन्, औषधि–उपचार पाए÷पाएनन्, बेरोजगार विपन्नहरुले खान पाए÷पाएनन् त्यसको अनुगमन तथा व्यवस्थापन समेत गर्ने छ ।

मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको छ । ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा हुनुहुन्छ । ३ हजार २ सय ५९ क्षमताको आइसोलेशन वेड तयार गरिएको छ, हाल त्यहाँ ९५ जना उपचारत हुनुहुन्छ । सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ ।

यस अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरिएको छ । हिजोसम्म १ हजार ८ सय ९० जनाको परीक्षण गरिसकिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण (र्‍यापिड डिटेक्सन टेस्ट-आरडिटी) विधिमार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको छ । सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको छ । भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ ।

दाजुभाइ दिदीबैनीहरु !

– यसबीच हजारौँको संख्यामा नेपालीहरु घर फर्किनु भएको छ । उहाँहरुमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ । उहाँहरुलाई पुनः आग्रह छ-स्वघोषणा गरेर जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा जानुहोस् । तपाइँहरुको लापर्बाही स्वयं तपाइँको परिवार र सिङ्गो समुदायका लागि निकै महङ्गो पर्न सक्छ ।

– नेपालमा लकडाउन सुरु भएपछि नेपाल-भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले भोग्नु परेको अप्ठेरो र उहाँहरुको भावनालाई हामीले बुझेका छौँ । तर सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ । भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि रहनु भएका २ हजार १ सय ४७ नेपालीहरुलाई उतै क्वारेण्टाइनमा राखिएको छ । सीमाको वारीपट्टि रहेका करिब ७०० भारतीय नागरिकहरुलाई हामीले क्वारेण्टाइनमा राखेका छौं । लकडाउनलाई प्रभावकारी बनाउन र संभावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो भन्ने सबै देशबासीले महसुस गर्नु नै भएको छ । निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरुलाई देशभित्र भित्र्याइने छ ।

– विश्वव्यापी रुपमा सङ्क्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरुमा पनि सङ्क्रमण देखा परेको छ । केहीको दुःखद निधन समेत भएको छ । लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ । सङ्कटको यस घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव उहाँहरुप्रति छ । हाम्रा दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्यामा समाधानमा क्रियाशील छन् । गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन् । विदेशमा रहेका नेपालीहरुको स्थितिका बारेमा सम्माननीय राष्ट्रपतिज्यू स्वयंले नेपाली दूतावासहरु मार्फत जानकारी लिनु भएको छ । नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसंग मैले टेलिफोन संवाद सुरु गरेको छु । परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ । मेरो आग्रह छ- सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ । सङ्कटका काला बादल अवश्य हटेर जानेछन् ।

– विश्वव्यापी महामारी विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य र समन्वयको खाँचो छ । विश्वव्यापी सङ्कटको घडीमा आफ्नो सरहदभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारहरुको हो । नेपालले सीमित साधनस्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकहरुको सक्दो हेरचाह गरिरहेको छ । हाम्रो विश्वास छ– असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरुबाट माया र संरक्षण पाउने छन् ।

– आउने २ साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुने छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिने छ । यसै हप्ताबाट प्रयोगमा ल्याइएको र्‍यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास गरेका छौँ । यस परीक्षण मार्फत् संभावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए/नभएको सुनिश्चित गरिनेछ । समुदाय स्तरको परीक्षणको लागि उच्चस्तरीय निर्देशक समिति र सिसिएमसीले संभावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको छ । थप सुनिश्चितताको लागि क्वारेण्टाइनमा तोकिएको अवधि पूरा गरेकाहरुको समेत परीक्षण गरिने छ । यसका लागि यहाँहरुको पूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।

– महामारीको बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नु नपरोस् भनेर सरकारले स्थानीय तहहरुको संयोजनमा राहत वितरण गरिरहेको छ ।

– अर्थतन्त्रलाई गतिशील राख्न आवश्यक सुरक्षाविधि सुनिश्चित गरी कतिपय मेगा प्रोजेक्टहरुको निर्माण जारी राखिएको छ । सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरिरहेको छ ।

– म विश्वास दिलाउन चाहन्छु- सङ्कटको बेलामा पनि र सङ्कटपछि पनि सरकार तपाइँहरुसँगै रहेर नेपालको आर्थिक विकासलाई गति दिन क्रियाशील हुनेछ ।

दिदीबहिनी तथा दाजुभाईहरु !

– महामारी बिरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ हो भन्ने हामीलाई थाहा छ । आजसम्मको तपाईहरुको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको छ । अबको लडाईँको जीत, तपाईहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ । तपाईहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ । यसैलाई ध्यानमा राखी उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ । राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ । आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था सहित सरकार, तपाईहरुको समग्र सुरक्षामा प्रतिवद्ध छ ।

– चिकित्सक टिमसँगै अग्रभागमा रही काम गरिरहेका सबै सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरु, राष्ट्रसेवक कर्मचारीहरु, ड्राइभर, हेल्पर, सफाई कर्मचारी लगायत कोरोना भाइरसका विरुद्धको उपचारमा संलग्न सबै श्रमिकहरुको भूमिका चिकित्सकीय टीमका सदस्य सरह नै महत्वपूर्ण हुने हुँदा सोही सरह भत्ता÷बीमा सहित सरकारले तपाईहरुको समग्र सुरक्षाको बन्दोवस्त गर्छ । यस अभियानमा परिचालन हुने समुदायमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेवीहरुलाई रु. १ हजार ५ सय भत्ताको थप व्यवस्था गरिएको छ ।

– गत चैत ७ गतेको सम्बोधनमा मैले यस महामारीसँग जुध्नका लागि हाम्रो आप्mनै व्यवहार र दैनिकीमा परिवर्तन गर्न आग्रह गरेको थिएँ । यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न भन्नेमा जोड दिन चाहन्छु । जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । यो हामी सबैको साझा लडाईं हो र समाजको हरेक सदस्य यस लडाईंमा आफैं एउता सिपाही हो भन्ने कुरा हामीले मनन गर्न सक्नु पर्दछ । यसो गरेर हामीले कोरोना भाइरसलाई परास्त गर्न सक्दछौं ।

दाजुभाइ दिदीबहिनीहरु !

– यस खालको महामारीसँग जुझ्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ । मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ । विकसित, सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरुलाई समेत आच्छु आच्छु पारिरहेको यस महामारी विरुद्ध जुझ्न हाम्रो जस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्नु स्वाभाविकै हो । यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्तिमा परेको छ । मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्यसामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप-प्रत्यारोप समेत चलिरहेको छ ।

– नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ । सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ ।

समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।सरकारविरुद्धको प्रचारबाजी बेमौसमी

– सरकार र जनताबीचको, राजनीतिक दलहरुबीचको, राज्य र समाजका सबै अङ्गहरुबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त हो । संसदको साझा सङ्कल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दल सहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरुको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई यस सन्दर्भमा मैले राष्ट्रिय शक्तिको रुपमा लिएको छु । आगामी दिनमा पनि यस्तो समझदारी र एकता निरन्तर रहने कुरामा म विश्वस्त छु ।

– सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौं भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ । मेरो आग्रह छ– मानव जातिलाई नै चुनौती दिइरहेको यस सङ्कटसँग जुझिरहेको बेला हाम्रो ध्यान यसै लडाइँमा एकाग्र गरौँ । अरु छलफल र कामहरु त स्थिति सामान्य बनेपछि गरौँला नै !

– स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र सरकारले गरेका निर्णयहरु जनसमक्ष पु¥याउन सञ्चारमाध्यमहरुले खेलेको भूमिका सराहनीय छ । मेरो आग्रह छ, सङ्कटको बेलामा आशावादको, सङ्कटमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सामूहिक आत्मविश्वासको र बलियो सामाजिक–राष्ट्रिय एकताको निर्माणका लागि सञ्चारमाध्यमहरुले अझ जिम्मेवार भूमिका खेल्नुहोस् ।

– म एकपटक फेरि दोहर्‍याउन चाहन्छु– विभिन्न मुलुकहरुको अनुभवले भनिरहेको छ, यस महामारी बिरुद्धको युद्धमा सामाजिक दूरी सबैभन्दा उपयुक्त हतियार हो । सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो । तसर्थः यस अवधिको लकडाउनलाई जतिसुकै कष्टकर भएपनि हरतरहले सफल पार्न हामी एक होऔं ।

– मानव जातिले इतिहासमा यस्ता धेरै महामारीमाथि विजय हासिल गर्दै आएको छ । नेपालले त समकालीन इतिहासमै धेरै अप्ठ्यारा चुनौतीहरुको सामना गरेको छ, विजय हासिल गरेको छ । ५ वर्ष अगाडिको विनाशकारी भूकम्प र पाँच वर्षमा भएको पुनर्निर्माणले नेपाली जनताको धैर्यता र साहसको नमूना प्रस्तुत गरेका छन् । पटक–पटक लड्नु, धुलो टक्टक्याउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानव जातिको स्वभाव हो, उसको अदम्य विशेषता हो । यही विशेषताकै बलमा हामीले यस सङ्कटमाथि विजय हासिल गर्ने छौं ।

– यस महामारी विरुद्ध हामीले समयमै चालेको कदमका कारण सयौंको जीवन जोगिएको छ । आउने केही हप्ता हामीले अलिकति साह्रो/गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिन्छ । आउनु होस्, फेरि एकपल्ट ५ वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तै धैर्यता र साहस प्रदर्शित गरौँ ।

धन्यवाद ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!