Loading... आजः शनिबार , श्रावण १२, २०८१

सामुदायिक विद्यालयहरुमा स्थानान्तरण हुन चाहने शिक्षकहरुबाट निवेदन माग


बर्दिया/ राजापुर
बर्दियाको राजापुर नगरपालिकाले नगरपालिका भरका सामुदायिक विद्यालयहरुमा स्थानान्तरण हुन चाहने शिक्षकहरुबाट निवेदन माग गरेको छ ।
नगरपालिकामा ११ सदस्यीय कार्यदल नै बनाएर दरबन्दी मिलान कार्यविधि २०८० बमोजिम राजापुरका सामुदायिक विद्यालयहरुमा कार्यरत स्थायी शिक्षकहरु मध्येबाट निवेदन माग गरिएको हो ।
 
सामुदायिक विद्यालयमा तहगत रुपमा प्रशासक नहुँदा योजना कार्यान्वयनका विभिन्न समस्या आउने भएकाले माध्यमिक तह, आधारभूत तहमा कम्तीमा दरबन्दी सहितको एक जना स्थायी शिक्षकको व्यवस्थापन गर्ने उद्देश्यले अहिलेको कार्य अघि बढाइएको सामाजिक विकास समिति तथा कार्यदलका संयोजक रमेश दहितले वताउनु भयो ।
विगतमा भएका विभिन्न कमी कमजोरीलाई सच्याउँदै अहिले शिक्षक महासंघ र सरोकारवालाहरुको व्यापक छलफलबाट काम अघि बढाइएको धारणा राख्दै संयोजक दहितले कार्यविधिमा रहेको बुँदामा टेकेर निष्पक्ष रुपमा शिक्षकको व्यवस्थापन सहमति कै आधारमा गरिने भएकाले कार्यदलको कार्यमा निराधार हल्लाका भरमा त्रसित र सशंकित नहुन शिक्षक तथा सरोकारवालाहरुमा अनुरोध गर्नु भएको छ । राजापुर नगरपालिकाको शैक्षिक क्षेत्रलाई सुधार गर्न हामी आफैँ लाग्नु पर्ने भन्दै सबैसँग रचनात्मक सल्लाह सुझाव दिन समेत उहाँले आग्रह गर्नु भयो । स्थानान्तरणका लागि माध्यमिक तहमा ४, निमाविमा ५ र प्रावि तहमा ७ गरी १६ विद्यालयमा जाने इच्छुक शिक्षकहरुले ३ दिन भित्र शिक्षा शाखामा निवेदन दिन सक्ने सूचना प्रकाशित गरिएको छ ।
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!