गान्तोक, 16 सितम्बर। कोरोनाको महामारीकालको आधा वर्ष लामो अवधीमा यो भाइरसबाट अहिलेसम्म अछुत रहेको सिक्किमको उत्तर जिल्लामा पनि अन्ततः कोरोना भाइरस छिरेको छ। उत्तर जिल्ला मुख्यालय मगनको जिल्ला प्रशासनिक केन्द्रमा केही दिन अघि गान्तोकबाट गएका एक कर्मचारीलाई कोरोना पोजेटिभ भएपछि उनको सम्पर्कमा आएका 5 जना प्रारम्भिक सम्पर्कमा रहेकाहरूको आज कोरोना पोजेटिभ पुष्टिसितै उत्तर जिल्लामा पाँचवटा कोरोना संक्रमित व्यक्ति आएका छन्। जसले गर्दा जिल्ला प्रशासनले मगनको पेन्तोक हस्पिटल डाँडाको एजबी गुरङको भवन अनि पाकसेप स्कूल नजिकसिङगिक सेन्ताम ग्राम पञ्चायत एकाईको नामग्याल काजीको भवनलाई कन्टेनमेन जोन घोषणा गरिएको छ। उत्तर सिक्किममा पाकसेप निवासी एकजना, पेन्तोकको ओमशान्ति बिल्डिङबाट दुइजना तथा हस्टपिटल डाँडाबाट दुइजना गरेर जम्मा पाँचजना कोरोना पोजेटिभ पुष्टि भएको छ।
अर्कोतिर कोरोनाको कारणले दक्षिण सिक्किमको मल्ली बजारमा एक व्यक्तिको हिज मृत्यु भएपछि आम मानिसहरूले सतर्कता अवलम्बन गर्दै सम्पूर्ण मल्ली बजारलाई आगामी 72 घण्टाको निम्ति बन्द गरेको छ। आम मानिसले स्वेच्छाले बजार बन्द राख्ने निर्णय गरेको बताइएको छ।
अर्कोतिर आज राज्यभरिमा 49 वटा नयाँ कोरोना पोजेटिभ संक्रमित भेटिएको छ। जसमा 38 जना पूर्व सिक्किमबाट रहेको छ भने 5 जना उत्तर सिक्किम अनि 5 जना दक्षिण सिक्किमबाट रहेका छन् तथा 1 जना पश्चिम सिक्किमको रहेको स्वास्थ्य विभागको सूत्रले बताएको छ।