Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमको जिउँदो इतिहासको अवसान शताब्दी पुरूष सीडी राईको निधन


गान्तोक, 9 अगस्त। सिक्किमको पत्रकारिताको भिष्मपितामह मानिने वरिष्ठ पत्रकार चन्द्रदास राईको हिज ९६ वर्षको उमेरमा तादोङस्थित आफ्नो निवासस्थानमा निधन भएको छ। उनको निधनसितै सिक्किमको राजनैतिक, साहित्यिक, पत्रकारिता र नोकरशाहको एक जिउँदो इतिहासको अन्त भएको छ। सीडी राई भनेर परिचित उनको जन्म १३ अप्रेल, १९२५-मा पिता रञ्जित दास राई अनि माता काजिमाया राईको कोखमा भएको थियो। दक्षिण सिक्किम नाम्चीको मिखोलामा जन्मिएका सीडी राईले सन् १९४५-मा सन्त रोबर्ट हाई स्कूलबाट माध्यमिकतह, १९५३-मा दार्जीलिङ सरकारी महाविद्यालयबाट स्नातक अनि १९५६-मा वनारस हिन्दु विश्व विद्यालयबाट स्नातकोत्तर गरेका थिए।

विद्यार्थीकालदेखि नै राजनीति र समाजसेवामा रूची राख्ने उनी १९६०-देखि नै पत्रकारिता पेशासित संलग्न थिए। उनी कोलकताबाट प्रकाशित ‘अमृत बजार’ अङ्ग्रेजी पत्रिकामा संवाददाताका रुपमा कार्यरत थिए भने १९६५-देखि सिक्किम राष्ट्रको सूचना प्रसार विभागबाट उनकै सम्पादनमा प्रकाशित हुन थालेको सिक्किम हेरल्ड-लाई सिक्किमेली पत्रकारिता जगतको एक माइलखुट्टी मान्न सकिन्छ। प्रेस क्लब अफ् सिक्किमको स्थापनामा पनि उनको मुख्य भूमिका रहेको थियो।

‘सिक्किममा पनि प्रजातन्त्र आउनुपर्छ’ भन्ने सीडी राई १९४६-मा कँग्रेस सोसलिष्ट पार्टीमा नाम लेखाएपछि दार्जीलिङ एकाइका मूल सचिव बनेका थिए। राज्य कंग्रेस पार्टीका अध्यक्ष टासी छिरिङसित सीडी राईले सिक्किममा राज्यव्यापी राजनैतिक आन्दोलन शुरु गरेका थिए भने ९ मई, १९४९-मा आन्तरिक सरकार गठन भएपछि उनले पहिलोपल्ट शिक्षा तथा यातायात मन्त्रीको पदभारसम्म सम्हालेका थिए।

Insert your Ads code here

सन् १९६०-मा काउन्सिलर अनि १९७३-मा पञ्चायत बिभागका सचिव बनेपछि सीडी राईले २० वर्षसम्म विभिन्न विभाग सम्हाल्दै जनसेवा पुऱ्याएका थिए। सिक्किम राज्य व्यापार निगमका प्रबन्धन-निर्देशक पनि बनेका राई १०७५-मा राज्यका प्रथम आइएएस अफिसर पनि बनेका हुन्। उनी १९८३-मा सरकारी सेवाबाट सेवानिवृत्त बनेका थिए। त्यसपछि उनले नेपाली साप्ताहिक हिमाली-बेलाका सम्पादकको पदभार सम्हाल्न थालेका थिए, जहाँ उनले १९९४ सम्म सेवा पुऱ्याएका थिए। १९९४ देखि २००५ सम्म ‘गान्तोक टाइम्स्’ नामक आफ्नै पत्रिका शुरू गरेका थिए। सिक्किमेली पत्राकरितासितै विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउँदै ‘शताब्दी पुरुष’-को उपाधिसम्म पाएका सीडी राईको निधनले समग्र सिक्किम र सिक्किमवासीलाई अपुरणीय क्षति पुगेको छ। उनको निधनमा राज्यपाल गङ्गा प्रसादले शोक व्यक्त गरेका छन्। यसैगरि मुख्य़मन्त्री प्रेम सिंह तामाङले शोक व्यक्त गरेका छन्। यसैगरि पूर्व मुख्यमन्त्री पवन चामलिङले पनि उनको निधन प्रति शोक व्यक्त गर्दै शोकाकूल परिवार प्रति सम्वेदना प्रकट गरेका छन्। अर्कोतिर प्रेस क्लब अफ सिक्किमले प्रेस बयान जारी गरेर उनको निधनमा शो व्यक्त गरेका छन्। उल्लेखनीय छ स्वर्गीय राई प्रेस क्लब अफ सिक्किमका संस्थापक अध्यक्ष थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!