गान्तोकः सिक्किममा भाषा शिक्षकहरूको नियुक्ति प्रक्रिया रद्द गरिएको मामिलामा पीड़ित परिक्षार्थीहरूको आज राजधानी गान्तोकमा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव जीपी उपाध्यायसित बैठक बस्यो। करिब डेड़ घण्टा बसेको बैठकमा परिक्षार्थीहरूको पक्षमा प्रतिनिधि टोलीले 13वटा भन्दा अधिक लिखित गुनासो राखिएको थियो जसलाई आज नै विभागका मन्त्री कुङ्गा निमा लेप्चा समक्ष राखिने अतिरिक्त मुख्य सचिवले आश्वासन दिएको प्रतिनिधि टोलीका एकजना सदस्यले बताए। यसको साथै यस मामिलामा आगामी 17 मार्चको दिन उच्च न्यायालयमा सुनावाइ भएकोले त्यस दिनको सुनवाइपछि यस बारेमा सकरात्मक पहल गरिने थप अश्वासन दिएको पनि उनले बताए।
उल्लेखनीय छ, राज्य सरकारको शिक्षा विभागले 101 जना नेपाली लगायत कूल 173 जना विभिन्ना भाषाका शिक्षकहरूको नियुक्तीको निम्ति प्रक्रिया चलाएको थियो भने सबै प्रक्रिया सकिएर परिणाम घोषित हुने समयमा एकजना बालकृष्ण दङ्गाल नामक व्यक्तिले उच्च न्यायालयमा याचिका दर्ता गरेको आधार गरेर विभागले सबै नियुक्ति प्रक्रिया नै रद्द गरेको छ।
आज विभागका अतिरिक्त मुख्य सचिवसित बसेको बैठकको परिणामलाई लिएर पीड़ित परिक्षार्थीहरू खुशी देखिएको छैन। आज आफूहरू विभागका कुनै ठोस निर्णय पाउने आशामा आएको तर आज पनि अल्झाउने काम मात्र गरिएको भन्दै उनीहरूले आसन्तुष्टि जाहेर गरेका छन्। जबसम्म मुख्यमन्त्री पीएस गोले तथा मन्त्री कुङ्गा निमा लेप्चासित भेटर ठोस कुराकानी हुँदैन तबसम्म घर नजाने उनीहरूको भनाइ रहेको छ।
समाचार लेखुञ्जेलसम्म पनि परिक्षार्थीहरू मुख्यमन्त्री प्रेम सिंह तामाङको लुम्सेस्थित निजी निवासमा मुख्यमन्त्रीलाई भेटेर गुनासो राख्नका निम्ति भेला भएका छन्।