गान्तोक,20 सितम्बर। हिमाली राज्य सिक्किममा महिला यौन हिंसामात्र होइन मानव तस्करीले पनि निक्कै समस्या सिर्जना गरिरहेको छ। यस्तै मानसिक प्राताड्ना र घरेलु समस्याहरूको शिकार बनेर दुइ वर्ष अघि हराएकी सिक्किम के एक युवतीलाई आज घर फर्काइएको छ। सिक्किमबाट हराएकी उक्त महिलालाई राज्य महिला आयोग, डुवर्स एक्सप्रेस र वान स्टपको सक्रियतामा पुनः घर फर्काइ ल्याउन सफलता प्राप्त भएको छ। 2018 सालमा सिक्किमबाट हराएकी एक युवतीलाई यी तीनवटा संस्थाको सहयोगले कटिहार पुगेर उद्दार गरेर फर्काइल्याइएको हो। डुवर्स एक्सप्रेसबाट दुइजना महिला अनि एक पुरुष स्वयंसेवीहरू बिहार पुगेर सिक्किमबाट हराएकी उक्त महिलालाई बचाएर ल्याएपछि आज सिक्किमको प्रवेशद्वारमा सिक्किम महिला आयोगको प्रतिनिधिहरूलाई जिम्मा लगाएर फर्किएका छन्। डुवर्स एक्सप्रेसका प्रतिनिधि राजु नेपालीले बताए अनुसार उक्त युवतीलाई एक वर्ष अघि नै हिमाचलप्रदेशको शिमलामा भेटिएको अनि त्यसपछि उनलाई उद्दार गरेर घर फर्काइल्याउने पहल गरिरहेको अनि आज आएर उक्त अभियान सफल भएको बताउँछन्। नेपालीको नेतृत्वमा आएको डुवर्स एक्सप्रेसको टोलीले रम्फू प्रवेशद्वारमा उक्त सिक्किमे छोरीलाई जिम्मा लगाएर फर्किएका छन् भने यस्तो चुनौती अझै धेरै रहेको अनि अझ धेरैलाई उद्दार गरेर ल्याउनुपर्ने बताउँदै सिक्किमे समाज पनि यस्तो विषयमा जाग्नु पर्ने सन्देश पनि छाडी गएका छन्।