सिक्किममा अहिलेसम्म कोरोनाको प्रकोप छैन, अझ सुरक्षित हुन सबैले सामुहिक जिम्मेवारी लिनुपर्छ-स्वास्थ्य सचिव
गान्तोक, 11 मार्च। सिक्किम सरकारको स्वास्थ्य विभागले राज्यलाई कोविट-19-को प्रकोपबाट हर सम्भव सुरिक्षित राख्ने प्रयास गरिरहेको अनि कथमकाल भाइरसको प्रकोप देखिएमा पनि सशक्तरूपमा स्थितिको समाधान गर्न सक्षम रहेको विश्वास व्यक्त गरेको छ। राज्य स्वास्थ्य विभागको सचिव डा. पेम्पा भोटिया र अन्य अधिकारीहरूले आज स्वास्थ्य विभागको सम्मेलन कक्षमा पत्रकार सम्मेलन आयोजन गरेर सिक्किमको तयारी र विभिन्न स्थितिबारे विस्तृत जानकारी गराए। उनले अहिले राज्यको प्रमुख प्रवेशद्वारहरूमा थर्मल स्केनर सहितको स्वास्थ्य कर्मीलाई खटाएर सिक्किम भित्रिने सबैजनाको जाँच गरिरहेको र यसलाई निकट भविश्यमा अझ सशक्त गराउने र मेकेनिकल थर्मल स्केनर समेत राखेर जाँच प्रकृयालाई अझ भरपर्दो र सुरक्षित बनाउने दिशामा मुख्य सचिवसितको उच्च स्तरीय वैठकमा चर्चा गरिरहेको बताए। स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आउँदो मई महिनादेखि शुरुहुने भारत चीन सीमा ब्यापार बन्द गरिएको अनि विदेशीलाई सिक्किम आगमनको निम्ति आवश्यक इनरलाइन पर्मिट स्थगलाई निरन्तरता दिने निर्णय भएको बताए। अर्कोतिर सिक्किम भएर जाने मानसरोवर यात्रा बारे पनि आउँदो उच्चस्तरीय बैठकमा चर्चा गरिने डा. भोटियाले बताए। कोरोनाबाट सुरक्षाको निम्ति आवश्यक चिकित्सा सामाग्री भेला गर्ने काम भइरहेको बताए। उनले अहिलेसम्म सिक्किममा कोरोना भाइरस प्रभावित व्यक्ति फेला नपरेको तर अहिले मणिपाल र नयाँ एसटीएनएम अस्पतालमा दुई जनालाई शङ्कामा भर्ना गरेर रक्त जाँचको निम्ति गुवाहट्टी पठाइएको बताए। यद्यपी यसभन्दा अघि पनि जाँचको निम्ति पठाइएको तर उनीहरूको जाँचमा नेगेटिभ पाइएकोले सिक्किम सुरक्षित रहेको बताए। यद्यपी विभिन्न सामाजिक सञ्जालहरूको माध्यमबाट अनावश्यक हल्ला फैलाउने काम भइरहेको र यस्तो अनावश्यक हल्लाहरूबाट सबैलाई सुरक्षित बस्ने र विश्वास नगर्ने पनि आह्वान गरेका छन्। अहिले मणिपालमा भर्ति भएका विरामी केरेलाका एकजना पास्टरसित यात्रा गरेको इतिहास भएकोले उनलाई भर्ना गरिएको छ भने उनको रक्तजाँचको निम्ति गुवाहट्टी पाइएको बताए। यसरी नै एसटीएनएममा भर्ना भएका व्यक्ति केही महिना अघि भोटाङको यात्रा गरेर आएको हुनाले उनलाई निरिक्षणको निम्ति राखिएको बताए। अर्कोतिर उनले धर्मविभागसित सल्लाह गरेर लामा तथा भिक्षूहरूलाई विभिन्न क्षेत्रहरूमा ओहोर दोहर नगर्ने अनुरोध गर्दै सुचना जारी गर्ने अनुरोध पनि गरिसकेको बताए। यसरी नै उनले नाकाहरूमा जाँचको प्रकृयाको तिब्रता ल्याउनको निम्ति थप 16वटा थर्मल स्केनरको माग गरेको र चाँडै आइपुग्ने आशा व्यक्त गरे। उनले मानिसहरूलाई अनावश्यकरूपमा माक्स र हात सफाराख्ने सेनिटाइजर प्रयोग र जम्मागर्ने कार्य गरेर चाहिएको बेलामा अपुग हुने स्थिति सिर्जना गर्न नदिन आह्वान पनि गरेका छन्। उनले नागरिक समाजलई चिकित्सा विभाग र पुलिस कर्मीसितै आफूहरूपनि अघि आएर जाँच प्रकृयाको निम्ति स्वयं सेवीको रूपमा अघि आएर सहयोग गर्ने अपील गरेका छन्। विशेष रूपमा उनले कोरोनाको नामलाई लिएर अचाहिँदो तरिकाले झुठो उडन्ते खबर नफैलाउने र दोषी सावित भएको खण्डमा कानुनले नै तीन सालसम्मको कैदको प्रावधान राखेको हुनाले मानिसहरूले जिम्मेवार नागरिकको रूपमा यो महामारिलााई रोक्न सामुहिक जिम्मेवारीकोरूपमा लिने आह्वान गरेका छन्। अर्को तिर आफू सँगै समाजलाई सुरक्षित राख्नकोनिम्ति अनावश्य्क भीड हुने कार्यक्रमहरू आयोजन नगर्ने र सक्दो यस्ता कार्यक्रमहरू टाडा राख्ने आह्वान पनि उनले गरेका छन्। यस विषयमा आउँदो दिनमा अझ थप निर्णय र चर्चाहरू हुने सम्भावना व्यक्त गर्दै यो कोरोनाको विषयबाट राज्यलाई सुरक्षित बनाउन सबैजना एक हुनुपर्ने बताए। उनले राज्यको सबै पाठशालाहरूमा बिहानको एसेम्ली सेसनमा पाँच मिनट कोरोना भाइरस बारे विद्यार्थीलाई जानकारी गराएर जागरुकता फैलाउने प्रयासलाई मुख्य सचिवको अध्यक्षतामा बसिएको बैठक पछि निर्णय गरिएको पनि बताएका छन्।
तपाइँकाे प्रतिक्रिया
