Loading... आजः मंगलबार , माघ १, २०८१

सिक्किममा कोरोनाले पहिलो मृत्यु


गान्तोक, 26 जुलाई। सिक्किममा पहिलो पल्ट एक जना कोरोना रोगिको मृत्यु भएको छ। 67 वर्षीय पूर्व प्रधान अध्यापकको निधन उपचारको क्रममा एसटीएनएम कोविड अस्पतालमा आज बिहान भएको हो। पूर्व सिक्किम रोङ्ली निवासी उक्त व्यक्ति उच्च रक्तचाप, मधुमेहले पनि पीडित थिए। उनलाई पखालालागेपछि उनको जाँचको निम्ति रोङ्लीबाट हिजो साँझ एसटीएनएम अस्पतालमा भर्ती गराइएको थियो। उनी आरटीपीसीआर जाँचमा कोरोना सकारात्मक भेटिएका थिए। उनको अवस्था गम्भीर भएपछि हिजो रातिनै सघन चिकित्सा एकाईमा (आईसीयू)मा राखिएको थियो भने आज बिहान 8-30 बजी उनको निधन भएको छ। सिक्किम सरकारको स्वास्थ्य विभागका सचिव तथा स्वास्थ्य महा निरिक्षक डा. पेम्पा भोटियाले दिएको जानकारी अनुसार उनको निधन पछि केन्द्र सरकारले तय गरेको कोरोनाले निधन भएकाहरूको निम्ति सुनिश्चित मानदण्ड अनुसार गान्तोक नगर निगमले उनको अन्तिम संस्कार गरेको छ। उनलाई रानीपुल स्थित घाटमा दिउँसो लगबग तीन बजी दाह संस्कार गरिएको छ।
अर्कोतिर एक जना 24 वर्षीय महिलाको पनि आज नै निधन भएको छ। उनी रिनक आरिटारबाट कोरोनाको सम्भावना देखिएपछि उपचारको निम्ति एसटीएनएम अस्पतालमा हिजो भर्ती भएकी थिइन। उनको निधनको कारण बारे स्वास्थ्य विभागले स्पष्ट जानकारी भने दिएका छैनन्। डा. भोटिया अनुसार उनलाई कोविड संक्रमणको सन्देह गरिएको थियो भने उनको जाँच नकारात्मक आएको छ भनि बताएका छन्। यद्यपी उनको मृत्युका कारण भने खुलाएका छैनन्। प्राप्त जानकारी अनुसार उक्त महिला पश्चिम बङ्गालको बीरपाढा निवासी रहेको बताइएको छ। उनी रिनाकमा एक परिवारको घरमा काम गर्न बसेकी थिइन्। उनतो मृत्युपछि घर मालिकका सबै सदस्यलाई कोरेण्टिनमा राखिएको छ। उनलाई रिनक सामुदायक अस्पतालबाट उपचारको निम्ति एसटीएनएम ल्याइएको थियो।
सिक्किम राज्य अहिलेसम्म कोरोनाले मृत्यु नभएको राज्यको रूपमा रहेको थियो भने आजको निधन सितै राज्यमा कोरोनाले पहिलो मृत्यु भएको पुष्टि पनि भएको छ। कोरोनाले निधन भएकाप्रति मुख्यमन्त्री पीएस तामाङले गहिरो शोक व्यक्त गरि शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्। चिकित्सकहरूले आफ्नो तर्फबाट सम्पूर्ण रूपमा प्रयास गरेको तर अभाग्यवस उनको निधन भएकोमा दुःख व्यक्त गरेका छन्। उनले जनतालाई सरकारले तय गरेको सम्पूर्ण दिशा निर्देशहरू पालन गर्ने र यस प्रकारको घटना फेरि नहोस भन्न सबै प्रकारको सुरक्षा सतर्कता अपनाउनु पर्ने आह्वान गरेका छन्।
यसैगरी पूर्व मुख्यमन्त्री पवन चामलिङले पनि शोक व्यक्त गर्दै उनी एक असल शिक्षाविद् रहेको र उनले दिएको योगदान अतुलनीय रहेको र उनको निधनले सिक्किमलाई गरीब बनाएको धारणा व्यक्त गरेका छन्। सिक्किमले एक असल शिक्षाविद् गुमाउनुपरेकोमा दुःख व्यक्त गरेका छन्। उनले कोविड-19 जस्तो घातक भाइरससित जुझ्नको निम्ति थप सतर्क हुनुपर्ने अनि अझ सहयोगी बन्दै आफ्नो सुरक्षासितै अरुको सुरक्षाको बारेमा पनि सोच्नुपर्ने आह्वान गरेका छन्। उनले कोविड-19 सित जुझ्न लागि परेका अग्र पङ्तिका योद्धाहरूलाई सम्मान जनाएका छन्। उनीहरूले आफ्नो जीवन दाउमा राखेर राज्य र राष्ट्रको सुरक्षाको निम्ति गरिरहेको समर्पणले आफ्नो मन गर्व महसुस गरिरेहेको र उनीहरूको समर्पण र सहासको सराहना गरेको बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!