Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममा निर्मित ‘उडान’ बन्यो उत्कृष्ट लघु चलचित्र


गान्तोक, 13 अगस्त। सिक्किमबाट निर्माण भएको ‘उडान’-ले लघु चलचित्रले दार्जीलिङको डिजिटल मिडिया हाउस दार्जिलिङ मिररले आयोजन गरेको सर्ट फिल्म प्रतियोगितामा बिजयी बनेको छ। । बालकलाकार निर्वाणविक्रम दङ्गालको उत्कृष्ट अभिनय रहेको फिल्ममा शारीरिक रूपमा असक्षमहरूको पनि मनमा अनेकौं इच्छा र आकांक्षा हुने गर्दछ, जसको सम्मान गरी उनीहरूलाई सहयोग गरिनु पर्छ भन्ने गम्भीर सन्देश रहेको छ। बालकलाकार निर्वाण विक्रम दंगाल प्रेस क्लब अव् सिक्किमका पूर्व अध्यक्ष पारसमणी दंगाल र पत्रकार राधिका शर्माकी पुत्र हुन्। बुधबार साँझ जारी गरिएको प्रतियोगिताको परिणाम घोषणामा गान्तोक सिक्किममा निर्माण भएको लघु चलचित्र ‘उडान’ले प्रतियोगिता जित्न सफल हुँदै उत्कृष्ट लघु चलचित्रको पुरस्कार प्राप्त गरेको छ। ‘उडान’ लघु चलचित्रको अवधारणा एवम् छायाङ्कन सुमन आग्रवालले गरेका हुन् भने फिल्मको निर्देशन कर्मा युडेनले गरेकी हुन्, फिल्मको सम्पादन सोनाम ग्यात्सोले गरेका छन् भने फिल्ममा पुजन राईको वाचन रहेको छ।
यसरी नै प्रतियोगितामा दर्शकहरूले सर्वाधिक हेरेको भिवर्स चोइस फिल्म पनि सिक्किमबाटै निर्माण भएको ‘ज्योति’ फिल्मले जितेको छ। दर्शकहरूले सर्वाधिक मनपराएको सिक्किमबाटै निर्माण भएको अर्को चलचित्र ‘ज्योति’को निर्माण निर्देश बिके अग्रवालले गरेका छन् भने फिल्ममा सत्यम गुरूङ, प्रार्थना छेत्री र आदर्श प्रधानको अभिनय रहेको छ। यस फिल्ममा प्रेम र धोकालाई भिन्नै प्रकारले देखाइएको छ।
दार्जीलिङ मिररले गत अप्रेल महिनामा सर्ट फिल्म प्रतियोगिताका लागि प्रवेश अह्वान गरेको थियो। सिक्किम दार्जिलिङ पहाडी क्षेत्रमा लघु चलचित्र निर्माणको वातावरण सिर्जना गर्न तथा निर्मित फिल्महरूलाई साझा मञ्च दिन प्रतियोगिता आयोजन गरेको बताइएको छ। प्रतियोगितामा छनौट भएका आठवटा फिल्मलाई दार्जीलिङ मिररले आफ्नो फेसबुक साइटमा गत २७ जुलाईको दिन अपलोड गरेको थियो। यसमा क्रमशः धुतेरियाबाट निर्माण भएको निर्देशक अनिश तामाङको ‘बाध्यता’, तीनधारे खरसाङका निर्देशक नवराज राईको फिल्म ‘अनलाइन’, काकझोडा दार्जीलिङका निर्देशक अनुराग थामी र दिवाकर प्रसादको लघु फिल्म ‘यहाँबाट कता’, तीनधारे खरसाङका राहुल शर्माको ‘पक्षपात’, दार्जीलिङका साव्युम जे. रिजालको फिल्म ‘स्चिजोफर्निया’, सिक्किमका बिके अग्रवालको ‘ज्योति’, मङ्पुका अनमोल राईको ‘बाबा, छोरा र लकडाउन’ अनि गान्तोक सिक्किमका निर्देशक कर्मा युडेनको फिल्म ‘उडान’ प्रतियोगिताका अन्तिम उत्कृष्ठ आठ लघु चलचित्र हुन्। यस प्रतियोगितामा सिक्किमकी चलचित्र निर्माता, निर्देशक त्रिवेणी गीता राई, मिरिकका चलचित्र निर्माता, निर्देशक कैलाश राई अनि दार्जीलिङका युवा चलचित्रकर्मी पल्लव राई निर्णायकको रूपमा रहेका थिए।
प्रतियोगितामा विजय बनेको ‘उडान’ फिल्मलाई नगद पुरस्कार पाँच हजार रूपियाँ र प्रमाण पत्र अनि ‘ज्योति’लाई नगद पुरस्कार तीन हजार रूपियाँ र प्रमाण पत्र प्रदान गरिने दार्जीलिङ मिररले घोषणा गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!