Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किममा 15 जूनबाट नवौं श्रेणीदेखि उँभोका सबै शैक्षिक संस्थानहरू खोलिने छ- मन्त्री लेप्चा


गान्तोक, 22 मई। सिक्किम सरकारको शिक्षा विभागले आउँदो 15 जूनदेखि सबै शैक्षिक संस्थानहरूमा आवश्यक स्टेण्डर अपरेटिङ प्रोटोकल (एसओपी) पालन गर्दै कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षा विभागको सम्मेलन कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मानव संसाधन विकास विभागका मन्त्री कुङ्गा नीमा लेप्चाले यस प्रकारको जानकारी दिएका हुन्।
उनले मार्चको दोस्रो सप्ताहदेखि नै शैक्षिक संस्थानहरू बन्द भएपछि लगभग तीनमहिना देखि शिक्षाको क्षेत्रमा विद्यार्थीहरूले निक्कै ठूलो घाटा बेहोर्नु परेको हुनाले केन्द्रीय मावन संसाधन विकास मन्त्रालयको निर्देश अनुसार मुख्यमन्त्री प्रेमसिंह तामाङसित उच्चस्तरीय वैठक गरेर यो निर्णय लिएको मन्त्री लेप्चाले बताए। मन्त्री लेप्चाले दिएको जानकारी अनुसार शैक्षिक संस्थानहरू नवौं श्रेणीदेखि 12औं श्रेणीसम्मको पठन पाठन सामाजिक दूरीको पालन गर्दै सञ्चालन गरिनेछ। यसैगरी कलेज र विश्वविद्यालयहरू पनि खोलिनेछ। तर केजी देखि आठौं कक्षासम्मका विद्यार्थीहरूलाई भने स्कूल नखोल्ने सरकारले निर्णय लिएको बताए।
यद्यपी अहिलेसम्म सञ्चालन भइरहेको सिक्किम एडू एप, आकाशवाणी र केवल टेलिविजनको अनलाइन कक्षाहरू निरन्तर चलिरहने बताए। यसैगरी शैक्षिक संस्थानहरूमा हुने बिहानको प्रार्थना सभा नहुने, विद्यार्थी र शिक्षकगणलाई माक्स अनिवार्य गरिने तथा कक्षाभित्र पस्न अघि हात धुने र स्वच्छिकरणको व्यवस्था गरिने बताए। आगामी 31 मईसम्म राज्य बाहिर रहेका सिक्किमेहरू सबैलाई फर्काइसक्ने सरकारको पहल भएको हुनाले अहिलेसम्म विभिन्न शैक्षिक संस्थानको हरूलाई कोरेण्टिन सेण्टरको रूपमा प्रयोग गरिएको भएपनि उक्त कोरेण्टिन सेण्टरहरू दस जूनसम्म खालि भइसक्ने भएकोले खालि गरिँदा सबै संस्थानहरूको स्वच्छिकरण र रखरखाउ पनि 14 जूनसम्ममा पूरा गरिने बताए। अर्कोतिर अब अनलाइन शिक्षालाई विशेष प्राथमिकता दिँदै सबै क्षेत्रमा सामुदायिक रेडियो स्थापना गर्ने अनि 10 किलोमिटरको घेराभित्र रहेका ठाउँहरूलाई उक्त रेडियोले शिक्षाको कक्षाहरू सञ्चालन गर्न सहयोग पुऱ्याउने बताए।
यसैगरी कक्षमा पनि विद्यार्थीहरूलाई फरक प्रकारले सामाजिक दूरत्व जारी गर्न लगाइने जानकारी दिए। यसैगरी 12औं श्रेणीसम्म सिक्किमको सिमाना क्षेत्रमा रहेको पाठशालाहरूमा छिमेकी राज्यका विद्यार्थीहरूपनि शिक्षार्जन गर्न आउने भएको हुनाले उनीहरूलाई घरैबाट धाउने अनुमति नभएको हुनाले दैनिकरूपमा सीमा पार गरेर पाठशाला आउऩको साटो सिक्किम ल्याएर त्यहीँ बस्ने व्यवस्था गर्नुपर्ने मन्त्री लेप्चाले बताए। यसको निम्ति एक पल्ट सिक्किम आएपछि कोरेण्टिनमा राखेर कोरोना जाँचपछि विद्यार्थीलाई पाठशाला जाने अनुमति दिइने तर विद्यार्थीका अभिभावकहरूले बस्ने व्यवस्था भने स्वयंले मिलाउनुपर्ने बताए।
उनले भने, रम्फू, रेशी, जोरथाङ, दरामदिन क्षेत्रमा छिमेकी राज्यबाट आउने विद्यार्थीहरूलाई शिक्षाको अधिकारबाट बञ्चित गराउँदैनौं तर उनीहरूले दिन दिनै घरबाट नआएर सिक्किममै बसेर पढ्नुपर्नेछ। यसको निम्ति अभिभावकहरूले खाने बस्ने व्यवस्था मिलाउनु पर्छ। यसरी नै अब उसो स्थिति सामान्य भए शैक्षिक संस्थानहरू खोलिने तर स्थिति असामान्य बन्दै गएमा यो नियममा पनि परिवर्तन गरिने बताए।
अर्कोतिर अब शैक्षिक संस्थानहरूको छुट्टी कम्ति गर्ने अनि सबै शनिबार पढाई हुने बताए। यसरी नै वार्षिक परिक्षा आउँदो वर्ष फरवारी महिनामा गरिने साथै विभिन्न चाड पर्वको छुट्टीलाई तोकिएको दिन बाहेक अन्य दिनहरूमा छुट्टी वर्जित गर्ने बताए। अर्कोतिर 10औं र 12औं श्रेणीको परिक्षा कोरोनाको कारण केही छुटेको हुनाले आगामी एक जूनदेखि शुरु गरिने अनि 10 जूनसम्ममा सक्ने बताए। यसको निम्ति अब विद्यार्थीले परिक्षाकेन्द्रमा जानुनपर्ने र सम्बन्धित स्कूलबाटै परिक्षा लेख्न सक्ने जनाए। अर्कोतिर विश्वविद्यालयहरू खोल्ने निर्णय गरिएको भएपनि राज्य बाहिरका विद्यार्थीहरूलाई ल्याउनको निम्ति राज्य भित्रकै मानिसहरू फर्किआएपछि पहल थाल्ने साथै यसको निम्ति केन्द्र सरकार र यूजीसीको दिशा निर्देशलाई पनि पालन गरिने बताए। पत्रकार सम्मेलनमा शिक्षा विभागका प्रधानसचिव जीपी उपाध्यायले विभागले लकडाउनको अवधिमा गरेका विभिन्न पहल र अनलाइन कक्षाको निम्ति गरेका विभिन्न प्रक्रियाहरू बारे जानकारी दिए। यसैगरी विभागका निर्देशक भीम ठटालले सम्बन्धित विषयहरूमा विभागको पहल र भावी रणनीतिहरू बारे पनि स्पष्टिकरण दिएका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!