Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमलाई बद्नाम गर्न एसडीएफले किर्ते फेसबुक आइडी प्रयोग गरेर सिङ्ताम अग्नीकाण्डको फोटोको दुष्प्रचार गऱ्योः एसकेएम


गान्तोक, 24 जुन। सिक्किमको विपक्षी दल एसडीएफले किर्ते फेसबुक आइडी मार्फत सिक्किमको बद्नाम गर्ने प्रयास गरिरहेको सत्तारूढ एसकेएम पार्टीले आरोप लगाएको छ। यसबारेमा एसकेएम पार्टीका प्रवक्ता तथा मुख्यमन्त्री पीएस गोलेका राजनीतिक सचिव जेकब खालिङले आज पत्रकार सम्मेलन गरेर दुईवटा फेक आइडी मार्फत एडिट गरिएको फोटो अपलोड गरेर एसडीएफ पार्टीले सरकारको बद्नाम गर्ने कोशिश गरेको दावी गरे। उनले गत 16 जुनको दिन पूर्व सिक्किमको सिङ्गतामको लालबजारमा भएको अग्निकाण्डलाई लिएर विपक्षी एसडीएफ पार्टीले सामाजिक सञ्जालमा दुष्प्रचार गरी राज्य सरकारलाई बद्नाम गर्ने षड्यन्त्र रचेको आरोप लगाएका छन्।
अग्निकाण्डको केही दिन पछि क्षेत्र विधायक तथा मन्त्री डा. एमके शर्माले पीड़ितहरूलाई सरकारको तर्फबाट राहत राशिको चेक प्रदान गरेका थिए। त्यसै समय पीड़ितहरूको साथमा लिइएको मन्त्रीको फोटोलाई सम्पादन गरेर गलत सन्देश जानेगरी उक्त दुईवटा फेशबुक आइडीले प्रचार गरेको प्रवक्ता खालिङले बताए। ती दुईवटा किर्ते फेसबुक आइडीले एसकेएम पार्टीको विरोधमा लेख्ने गरेको तर एसडीएफ पार्टीलाई भने जहिल्यै राम्रो भन्ने गरेकोले ती आइडीहरू एसडीएफ पार्टीले नै चलाउँछ भन्नेर किटान गर्न सकिने उनले थपे। ‘एसडीएफ पार्टीले झुटा कुरा गरेर एसकेएम पार्टीलाई बद्नाम गर्न खोजेको पहिलेदेखि नै हो। एसकेेएम पार्टी स्थापना भएदेखि नै एसडीएफ पार्टीले यस्तो कमा गर्दै आएको हो। चुनाउ अघि एसडीएफ पार्टीले अधिक गर्थ्यो भने अहिले चुनाउ सकेपछि अहिले पनि एडिट गरेर झुटा कुरालाई पनि जनतामा साँचो जस्तो देखाएर हाम्रा नेताहरूलाई बद्नाम गर्ने कोशिश गर्दै आएको हो। यो अतिनै भइसकेको छ। यसले सीमा नाघिसकेको छ। अब हामीले जनतालाई उनीहरूको साँचो चरित्र देखाउनुपर्ने समय आएको छ’, उनले भने। ती फेक आइडीहरूले फोटोमा पीड़ितहरूले हातमा लिएको चेकलाई एउटा प्लाकार्ड जस्तो बनाएर मन्त्री डा. एमके शर्मा र सरकार तथा सत्तारुढ़ एसकेएम बीच सबैकुरा ठीन नभएको जस्तो देखाउन खोजिएको खालिङले बताए।
मन्त्री डा. एमके शर्माले पनि यस काण्डको घोर भत्सर्ना जनाउँदै निन्दा गरेका छन्। कसैले घर र आजिवीकाको साधन नै गुमाउन परेको यस विकट स्थितिमा राजनीतिक फाइदा उठाउन खोज्नु अति दुर्भाग्यजनक रहेको उनले बताए। यस घट्नालाई सरकारले गम्भीरतासित लिनेछ र दोषीहरूलाई दण्ड दिनेछ भन्दै यस्ता असमाजिक तत्वहरूलाई समाजले पनि चिन्हित गरेर सजाय दिनुपर्ने उनले थप बताए।
पत्रकार सम्मेलनमा त्यस दिन मन्त्री डा. शर्माको बाहुलीबाट चेक ग्रहण गर्ने चारजना पीड़ितहरू पनि उपस्थित थिए। ती मध्ये एकजना पदम बहादुर सुनारले पत्रकारहरूसित कुराकानी गर्दै ती फेक आइडी हरूले सामाजिक सञ्जालमा आफूहरूको भावनासित खेलवाड़ गरेको बताए। यसको साथै उनले यस विकट परिस्थितिमा आफूहरूलाई आर्थिक सहयोग प्रदान गरेकोमा राज्य सरकार र क्षेत्र विधायक प्रति आभार प्रकट गरे।
प्राप्त जानकारीअनुसार यस विषयमा अज्ञात आरोपीहरू विरुद्ध सिङ्गताम थानामा जीडी दर्ता गरिएको छ। अहिलेसम्म विपक्षीहरूले नेताहरूलाई फेक आइडी मार्फत नराम्रो भन्ने गरेको तर यसपल्ट अग्निपीड़िहरूलाई पनि मुचेकोले यस घट्नालाई सरकारले गम्भीरातसित लिएर जाँच गर्ने जेकब खालिङले बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!