Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किमले पालन गर्ने 3 मईसम्म अझ कडाईसित लकडाउन मुख्यमन्त्री तामाङले गरे घोषणा


गान्तोक, 14 अप्रेल। भारतको सबै राज्यहरूमध्ये कोविड 19 को संक्रमणबाट बाचेको सिक्किम राज्य मात्र रहेको छ। सिक्किम सरकारको मन्त्रीपरिषदको वैठकपछि लिइएको विभिन्न निर्णयहरू बारे जाकारी गराउँदै मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम कोरोनाबाट अहिलेसम्म अछुत रहेपनि थप कडाईको साथमा लकडाउन पालन गर्न प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रलाई सम्बोधन गर्दै गरेको विभिन्न घोषणाहरू पूर्णरूपमा कार्यान्वयन गर्न सिक्किमले प्रतिबद्धता जाहेर गरेको बताए। यसैगरी आगामी 21 अप्रेलदेखि भने केही क्षेत्रमा राज्यको मानिसहरूको आवश्यकतालाई ध्यानमा राखेर लकडाउनबाट खकुलो गरिने तर सामाजिक दुरी र अन्य आवश्यक मानदण्ड अहिलेभन्दा अझ कडा गरेर पालन गर्दै उक्त एकाइहरू फूका गरिने बताए। जसमा विशेष गरेर निर्माण कार्यहरूमा राज्यभित्रै रहेका मजदूरहरूलाई प्रयोग गरेर काम सञ्चालन गर्न सकिने अनि किसानहरूले खेतीपातीको निम्ति बारिमा जान सक्ने जस्ता विषयलाई भने सरकारले केही ढिलाइ गरिने बताए। यद्यपी तीनवटा अन्तर्राष्ट्रिय सिमाना र अन्तर्राज्य सिमाना भने अझ कडाई सित पूर्णरूपमा बन्द राखिने निर्णय गरेको बताए।
सम्मान भवनबाट पत्रकारहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किमलाई अहिलेसम्म कोरोना मुक्त राख्न सरकारले गरेको पहललाई राज्यवासी जनता, स्वास्थ्यकर्मी अनि पुलिस प्रशासनले पूर्ण सहयोग गरेको कारण अहिलेसम्म कोरोनाको समस्याबाट सिक्किम राज्य अक्षुण्ण रहेको अनि भविष्यमा पनि यसरी नै रहनको निम्ति भारत सरकार र राज्य सरकारले गरेको पहलहरूलाई सबैले पालन गरेर सहयोग गर्नुपर्ने बताए। अर्कोतिर राज्यमा वितरण भइरहेको राहत सामाग्रीहरू मुख्यमन्त्री राहत कोषबाट सञ्चालित रहेको अनि अहिलेसम्म 1 लाख 25 हजार विपन्नलाई आवश्यक खाद्य पदार्थ र राहतका सामानहरू वितरण गरिएको पनि बताए। यसरी नै उनले राहत सामाग्री वितरणमा अहिलेसम्म कुनै भेदभाव नभएको अनि केही सामाजिक सञ्जालहरूमा भने सिक्किमलाई बद्ननाम गर्न किर्ते फोटोहरू हालेर भ्रमित पार्ने काम भइरहेको प्रमाणित भएको बताए। यसरी नै उनले अहिले राजधानीको एसटीएनएम अस्पतालमा आठौं अनि नवौं तलालाई पूर्णरूपमा कोविड-19को निम्ति उपचार गर्न तयार गरिएको अनि राज्यवासीलाई कुनैपनि उपचार दिनको निम्ति सरकारले गरेको तयारी पर्याप्त रहेको बताए। अर्कोतिर एसटीएनएममा भाइरोलोजी टेस्टिङ ल्याब निर्माणको प्रक्रिया शुरु भएको अनि मेशिनहरू जडान गर्न केही समय लाग्ने र चाँडै जाँच प्रक्रिया शुरु गर्ने बताए।
आजको मन्त्री परिषदको वैठकले राज्यका सबै आशाकर्मीहरूलाई कोविड-19 सित जुझ्न गरिरहेको महत्वपूर्ण कार्यको निम्ति प्रतिव्यक्ति पाँच हजार रुपियाँ अनुग्रह राशी प्रदान गर्ने सरकारले निर्णय गरेको बताए। यसैगरी मिडियाकर्मी र सफाई कर्मचारी, पुलिस प्रशासन, स्वास्थ्यकर्मीहरूको निम्ति पनि विशेष अनुग्रह राशी सरकारको पक्षबाट प्रदान गर्ने र गरिँदै आएको बताए। यसरैगरी राज्य बाहिर अध्ययनरत विद्यार्थी अनि बिरामीहरूलाई असुविधा नहोस भनेर अनुग्रह राशी प्रदान गरेको बताए। जसमा अहिलेसम्म एक हजार विद्यार्थीहरूलाई भुक्तान गरिएको तथा सिक्किम बाहिर सिलगडीमा उपचाराधिन रोगीहरूलाई सिम्फेडको गेस्ट हाउस र एउटा होटलमा राख्ने काम गरेको बताए।
मन्त्री परिषदले आजसम्म रहेको सबै वाहनहरूको पास रद्द गर्ने निर्णय गर्दै अब उसो अझ कडाइसित लकडाउनलाई पालन गर्ने उद्देश्यले एउटा ग्राम पञ्चायत एकाईमा दुईवटा मात्र वाहन चल्न दिने जसमा एउटा खाद्य सामाग्री अनि अर्को आपतकालिन स्थितिको निम्ति दिइने अनि सबै पास जिल्ला प्रशासनबाट प्रदान गरिने निर्णय गरिएको बताए। यसरी नै सरकारले सरकारी कार्यालयहरू खोल्ने विषयमा 21 अप्रेलदेखि उता भारत सरकारको दिशा निर्देशनलाई ध्यानमा राखेर आवश्यकता अनुसार 25 वा 50 प्रतिशतलाई कार्यालयमा लगाउने विषयमा निर्णय गर्नसक्ने बताए। यद्यपी अहिलेपनि आवश्यक भएको विभागको कर्मचारीहरू उपस्थित रहेको अनि काम भइरहेको बताए। यसी नै उनले खटिखाने चालक, होटलका कर्मचारीलाई अनुग्रह राशी प्रदान गर्ने विषयमा पनि पहल गर्ने बताए। यसका साथै उनले सबैले सिक्किमलाई कोविड-19बाट बचाउनका निम्ति कुनै पनि प्रकारको सहयोग समवेदनाको हिसाबले गर्नुपर्ने अनि मजदूर र विद्यार्थीहरू जसले घरभाडा तिर्न सक्दैनन् उनीहरूको निम्ति भाडा माफ गरिदिने मानवता पनि देखाउनुपर्ने आह्वान गरे। सिक्किम राज्य ब्याङ्कबाट अगावै तीन महिनाको निम्ति ईएमआई माफि गरिदिएको बताए। अन्त्यमा मुख्यमन्त्रीले राज्यवासीलाई आह्वान गर्दै यो महामारी र आपतको घडिमा आपसी सहयोग र सद्भावनालाई मध्यनजरमा राख्दै सबैले कोविड-19लाई राज्यमा प्रवेश गर्न नदिन सहयोग गर्ने आह्वान गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!