सिक्किम दार्जीलिङमा झरी सितै हिमपातले बडायो जाडो, 24 घण्टमा सुधार हुने मौसम विभागको भनाई
गान्तोक, 26 फरवरी। वसन्त ऋतुको शुरुवात भइसकेर पनि सिक्किम दार्जीलिङ क्षेत्रबाट जाडोको मात्रा घट्ने छाँट छैन। पछिल्लो 24 घण्टमा सिक्किम दार्जीलिङको उच्च हिमाली क्षेत्रमा बाक्लै हिउँपरेको छ भने तल्लो फाँटहरूमा झरी परेपछि दिन उग्रिएपछि बड्न लागेको न्यानो एका एक घटेको छ। आज बिहानै देखि राजधानी गान्तोकलगायत चारैवटा जिल्लामा सिमसिमे झरी परिरह्यो भने ऊच्च हिमाली क्षेत्रहरूमा असिना र हिमपात भएको छ।
जसमा पश्चिम सिक्किमको हिले, बर्से, फोक्टे, कालीझार क्षेत्रमा हिमपात रेकर्ड गरिएको छ भने दक्षिण सिक्किमको मैनाम, भालेढुङ्गा क्षेत्रमा पनि हिजदेखि नै हिमपात भएको छ। अर्कोतिर उत्तर सिक्किमको लाचेन लाचुङसमेत गुरुदोङमार युमथाङ क्षेत्रमा पनि बाक्लै हिउँ परेको जानकारी प्राप्त भएको छ। पूर्व सिक्किमको छाङ्गू , नथुला, बाबा मन्दिर क्षेत्रमा गत दुई दिनदेखि लगातार हिमपात भइरहेको हुनाले जेएन रोड भएर छाङ्गू घुम्न जाने पर्यटकहरूलाई दुई दिनदेखि पर्मिट दिइएको छैन। चेकपोस्ट सूत्रले बताएअऩुसार बाक्लो हिउँपरेको कारण सुरक्षालाई ध्यानमा राख्दै पर्यटकहरूलाई जाने अनुमति नदिइएको हो।
यसै गरी पहाडकी रानी दार्जीलिङमा पनि विभिन्न ठाउँमा असिना र हिमपातसँगै पानी परेको हुनाले जाडो ह्वात्तै बडेको छ। दुई दिनदेखि भारत नेपाल सिमामा पर्ने सन्दकफु, फालुटमा हिमपात भइरहेको छ भने आज बिहानदेखि झरी सितै दार्जीलिङ, बतासे, टाइगर हिल, माने भञ्ज्याङ, धोत्रे आदि ठाउँहरूमा बाक्लै हिउँ परेको छ। हिउँ परेपछि जाडो बडेको भएपनि घुम्न आउने देशी विदेशी पर्यटकहरूलाई भने खुबै आनन्द भएको छ।
उनीहरूले हर्षोल्लासको साथमा हिउँ खेलिरहेको देख्न पाइयो। मौसमको अचानक प्रतुकूल स्थिति बारे गान्तोकस्थित भारत सरकारको मौसम विभागका निर्देशक डा. जेएन राहले भने अहिले बिहार समेत संलग्न पश्चिम बङ्गाल सिक्किममा साक्लोनिकल सर्कुलेसन भइरहेको कारण बढेको आध्रताको कारण तल्लो क्षेत्रमा झरी र माथिल्लो क्षेत्रहरूमा हिमपात र असिना परिरहेको छ। उनले आउँदो 24 घण्टा भित्र मौसममा सुधार हुने र मौसम सफा हुने सम्भावना पनि व्यक्त गरेका छन्।