सिक्किम पुलिसले बोल्यो जेबी दर्नालको आक्रमणबारे
सिक्किम पुलिसले सशस्त्र बल भारत चीन सीमाको गाउँमा जनताको आत्मबल विकासको निम्ति तैनाथ गरेको छः डीआइजी गुरुङ
गान्तोक, 23 जुन। भारत-चीनको सीमा विवादलाई लिएर चलिरहेको तनाउको बीच गत 15 जुनको दिन लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको झडपमा 20 जना भारतीय जवान सहीद बनेपछि सिक्किमसित जोडिएको चीनको सीमानामा पनि भारतीय सेनाले सतर्कता र सामर्थ बढाएको छ। यसैक्रममा आम मानिसहरूमा सेनाको बढ्दो चहलपहलले उब्जाएको संशयलाई ध्यानमा राखेर सिक्किम पुलिसले उत्तर र पूर्व जिल्लाको अन्तरराष्ट्रीय सीमासित जोडिएका गाउँलेहरूलाई ढाडस दिन सशस्त्र पुलिस बल तैनाथ गरेको छ। यसबारेमा सिक्किम पुलिसका डिआइजी (रेञ्ज) प्रवीण गुरुङले पत्रकार सम्मेलन आयोजन गरेर जानकारी दिए। यसबारेमा बोल्दै उनले उत्तर सिक्किमको लाचेन, लाचुङ अनि थाङ्गुको निम्ति इण्डियन रिजर्ब बटालियन (आइआरबी) को जवानहरू पठाएको बताए। यसैगरि उनले पूर्व जिल्लाको सेरेथाङ र कुपुपको निम्ति पनि जवानहरू पठाइसेकको बताए। यो प्रक्रिया गत एक हप्तादेखि चलिरहेको अनि जवानहरूलाई वातानुकुलित गरेर पोस्टमा पठाउने कार्य भइरहेको बताए। यो रूटिन कार्यक्रम भएको तथा अहिले रहेका सिक्किम पुलिसका पोस्टहरूलाई थप बल प्रदान गरेर सामर्थ्य बनाउन यसो गरिएको बताए। उनले कति आइआरबी पठाइएको छ त्यो बताउन चाहेनन् यद्यपी पुलिस सूत्र मुताबिक उत्तर सिक्किमा दुइ कम्पनी पठाइएको छ भने पूर्व सिक्किममा एक कम्पनी तैनाथ गरिएको थाहा लागेको छ।
अर्कोतिर केही समय अघि उत्तर सिक्किमको नाकुलामा पनि भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो। जसले गर्दा सिक्किममा पनि तनाउ बढेको थियो भने अहिले शान्तिपूर्ण रहेको तर सेनाको चहलपहल बड्दा मानिसहरूलाई आत्मविश्वास प्रदान गर्न अनि ढाडस दिनको निम्ति स्थानीयहरूको सहयोगको निम्ति सिक्किम पुलिसले यो पहल गरेको बताइएको छ। यसका साथै केन्द्रीय बलहरूलाई आवश्यकता परेको खण्डमा सहयोग गर्न पनि रहेको बताए। यसभन्दा अघि 2017 सालमा डोकलाममा भएको झडपमा भने सिक्किम पुलिसले कुनै बल पठाउन नपरेको तथा त्यो क्षेत्रमा आम मानिसहरूको बसोबासो नभएको कारण यसो गरिएको बताए। उल्लेखनीय छ भारत चीनको सीमा सेना र आइटीबीपीले हेर्ने गर्छ भने नेपाल र भोटाङको सीमानामा एसएसबी तैनाथ रहेको छ जो भारतीय प्यारा मिल्टरी फोर्स हो। यसैक्रममा सिक्किम पुलिसको भूमिका भने केवल आम मानिसहरूसित अनि सेनासित समन्वय बनाउनु मात्र रहेको पनि उनले बताए।
यसैगरि डीआइजी गुरुङले सिक्किमको विपक्षी दल एसडीएफका प्रवक्ता जेबी दर्नालमाथि भएको कुटपिटको घटनाबारे उठिरहेको विभिन्न चर्चामाथि पुलिसको स्पष्टिकरण दिँदै पुलिसले निष्पक्ष रूपमा सम्वेदनशील भएर काम गरिरहेको बताए। 12 जुनको दिन भएको उक्त मारपिटको घटनाबारे तुरन्तै पुलिसले सदर थानामा प्राथमिकी दर्ता गरेको जसमा भारतीय दण्ड संहिताको धारा 325, 342 र 392 अन्तर्गत मामिला दर्ता गरिएको बताए। पुलिसले एक निरिक्षक अनि अन्य चार सहयोगी सह निरिक्षकहरूलाई यस मुद्दाको समाधानको निम्ति काम गर्ने जिम्मेवारी दिएको बताए। अहिले पिडीतको बयान लिएको तथा पिडीत दर्नालले आफूमाथी आक्रमण गर्नलाई चिन्न नसकेको तथा प्रत्यक्षदर्शी नभेटिएको हुनाले एकजना सिक्किम विश्वविद्यालयको गार्डलाई भने पुलिसले केही सुलाक पाउछ की भनेर सहयोग मागेको तर उनले पनि भनेजस्त केही बताउन नसकेको बताए। यद्यपी उक्त प्रत्यक्ष दर्शीसित सम्पर्कमा रहेको जनाए। यसैगरि सन्देशको आधारमा केही व्यक्तिलाई पुलिसले सोधपुछ गरेको तथा एकजनालाई एक दिनसम्म हिरासतमा राखेर उनी विरूद्ध कुनै साक्षी पुष्टि नभएको कारण छोडिएको बताए। यद्यपी अहिले पिडीत र सिक्किम विश्वविद्यालयको सेक्युरिटि गार्डको बयानको आधारमा आरोपीहरूको स्केच बनाउने काम चलिरहेको पनि बताए। उनले सिक्किम पुलिसले जनताको पक्षमा सधैँ काम गर्ने अनि कुनै भेदभाव र दबाउ बिना कार्य गर्ने गरेको यसमामिलामा पनि त्यसैगरि अझ सम्वेदनशील भएर काम गरिरहेको स्पष्टिकरण दिए। उनले एउटा लाभाको फोन उक्त घटनास्थलबाट अलग थलग भएको अवस्थामा फेला पारेको अनि त्यसबारे कल ट्रेसिङ चलिरहेको बताए। यसैगरि पिडीत दर्नालको पनि फोन हराएको बताएको भए पनि अहिलेसम्म फोन नभेटिएको अनि नम्बर अफ भएको कारण लोकेशन प्राप्त गर्न नसकिरहेको जनाए।