Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम भाजपा अध्यक्ष डीबी चौहानलाई दक्षिण जिल्ला समितिले गऱ्यो स्वागत


गान्तोक, 25 फरवरी। भारतीय जनता पार्टी (भाजपा) , दक्षिण जिल्ला समितिको आयोजनामा आज दक्षिण सिक्किमको राभाङ्लास्थित भाजपा कार्यालयमा नयाँ अध्यक्षको स्वागत कार्यक्रम साथै सांगठनिक सभा सम्पन्न भयो। समारोहमा भाजपा सिक्किमका अध्यक्ष डीबी चौहान, गान्तोकका विधायक श्री वाईटी लेप्चा, दक्षिण जिल्ला पार्टी अध्यक्ष सीएल गुरुङलगायत पदाधिकारीगण, विभिन्न निर्वाचन क्षेत्रका अध्यक्ष, प्रभारी एवं भारी मात्रामा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सबैले नवनिर्वाचित प्रदेश अध्यक्ष डीबी चौहानलाई माल्यार्पण गरेर बधाई तथा शुभकामना दिए। सभामा विभिन्न स्थानबाट उपस्थित भएका कार्यकर्ताहरूले आ-आफ्नो पक्ष राखेका थिए।

समारोहलाई सम्बोधन गर्दै पार्टी प्रदेश अध्यक्ष डीबी चौहानले भारतीय जनता पार्टी अनुशासन, स्वच्छ राजनीति अनि जनमुखी कार्यक्रमका आधारमा राजनीति गर्ने पार्टी रहेको बताउँदै सबै कार्यकर्ताहरूलाई पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर काम गरिदिने आह्वान गरे। भाजपाले सदैव अन्त्योदय अनि सबका साथ, सबका विकासको सिद्धान्तलाई शीरोपर गरेर काम गरिरहेको बताउँदै पार्टीको लक्ष्यलाई प्राप्त गर्न सबै कार्यकर्ताहरू निष्ठावान अनि संघर्षशील हुनुपर्ने कुरामा जोड़ दिए।

अध्यक्ष चौहानले विशेष गरेर जिल्ला, मण्डल तथा बुथ स्तरीय समितिमाझ उचित तालमेल कायम गरेर जनताका समस्याहरूलाई समाधान गर्ने दिशामा काम गर्नुपर्ने सुझाउ दिए। उनले अब केही दिनभित्रमा राज्यस्तरीय कार्यकारिणी गठन गरिने अवगत गराउँदै त्यसपछि पार्टीको सांगठनिक संरचना निर्माण पूरा भएपछि गतिविधिलाई अझ तेज गरिने जानकारी दिए। सबै स्तरका कार्यकर्ता एवं पदाधिकारीगण एकबद्ध भएर पार्टीलाई अघि लगाएको खण्डमा हामी चाँडैए लक्ष्यमा पुग्नेछौं, अध्यक्ष चौहानले भने।

सभालाई सम्बोधन गर्दै दक्षिण जिल्ला अध्यक्ष सीएल गुरुङले पनि कार्यकर्ताहरूलाई सहयोग पुऱ्याउने अनि आफू पनि पार्टी अनि कार्यकर्ताहरूको पक्षमा खड़ा रहने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टी शीर्ष समितिबाट पनि उचित साथ र सहयोगको अपेक्षा राख्दै सबै स्तरका कार्यकर्ताहरूमाझ उचित तालमेल राखेर अघि बढ्नुपर्ने कुरामा जोर दिए। राङगाङ-याङगाङ मण्डलकी अध्यक्ष श्रीमती सोनिका लेप्चाले सञ्चालन गरेको कार्यक्रममा दक्षिण जिल्ला उपाध्यक्ष डीबी प्रधानले धन्यवाद ज्ञापन गरेका थिए।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!