Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम भाजपा अध्यक्ष डीबी चौहानलाई पश्चिम सिक्किममा स्वागत


गान्तोक, 20 जनवरी। भारतीय जनता पार्टी (भाजपा) को पश्चिम जिल्ला कमिटीद्वारा गेजिङस्थित भाजपा कार्यालयमा सिक्किम प्रदेशका नवनियुक्त अध्यक्ष डीबी चौहानको स्वागत एवं सम्मान कार्यक्रम आयोजन गरियो। कार्यक्रममा गान्तोक निर्वाचन क्षेत्रका विधायक वाईटी लेप्चा पार्टीका वरिष्ठ नेतागण सर्वश्री एसबी कार्की, जगत सिंह सिंघी, जीडी अग्रवाल, पश्चिम जिल्ला अध्यक्ष दिगम सुब्बा, उपाध्यक्ष कर्मा छुकी भोटियालगायत विभिन्न निर्वाचन क्षेत्रका प्रभारी तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सबै उपस्थित पदाधिकारी एवं कार्यकर्ताहरूले डीबी चौहानलाई पुनः अध्यक्ष नियुक्त गरिएकोमा पार्टी शीर्ष समितिको निर्णयलाई शीरोपर गर्दै उनलाई स्वागत तथा सम्मान जनाए।

समारोहलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीबी चौहानले आयोजक पक्षलाई धन्यवाद दिँदै भाजपाले अहिले देशलाई नै नेतृत्व दिइरहेको र भाजपाको राजनीति भनेको देश, राज्य र समाजको समग्र विकास गर्नु रहेको बताए। उनले आगामी दिनमा पार्टीका सबै तप्काका नेता तथा कार्यकर्ताहरूलाई साथमा लिएर अघि बढ्ने बताउँदै निष्ठापूर्वक काम गर्ने कार्यकर्ताहरूलाई कहिले पनि अन्याय हुन नदिने भरोसा दिलाए। कार्यकर्ताहरूलाई विशेष आह्वान गर्दै अध्यक्ष चौहानले केन्द्र सरकारद्वारा शुरू गरिएका जनकल्याणकारी योजनाहरूबारे जानकारी लिएर त्यसलाई जनतासमक्ष पुऱ्याउनुपर्ने बताउँदै त्यसको निम्ति आवश्यक परेको खण्डमा महकुमा कार्यालय, जिल्लापाल कार्यालय, विभागीय कार्यालय अनि मन्त्रालयसम्म गएर जनताको समस्या र गुनासोहरू समाधान गर्ने दिशामा काम गर्ने आग्रह गरे।

यसै गरी पश्चिम जिल्लाका कार्यकर्ताहरूद्वारा राखिएका मागहरूबारे बोल्दै पार्टीले पहिला जिल्लास्तर, त्यसपछि मण्डल (निर्वाचन क्षेत्र) स्तर अनि बुथ स्तरमा पार्टी कार्यालयहरूको स्थापना गर्ने आश्वासन दिए। उनले पार्टी कार्यकर्ताहरूलाई कुनै परिस्थितिमा पनि साथ दिने बताउँदै कुनै समस्या परेको खण्डमा त्यसको समाधान गर्न पार्टी सदैव अग्रसर रहने बताए।

Insert your Ads code here

यसअघि, कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विभिन्न वक्ताहरूले भाजपालाई राज्यमा कसरी अघि बढ़ाउने विषय आ-आफ्नो पक्ष राखे। यस क्रममा स्वागत सम्बोधन राख्दै पश्चिम जिल्ला पार्टी उपाध्यक्ष श्रीमती कर्मा छुकी भोटियाले भाजपा प्रदेश अध्यक्ष पश्चिम जिल्लाबाटै भएकोमा खुशी व्यक्त गर्दै पार्टी शीर्ष समितिको निर्णयले आफूहरू हर्षित भएको बताइन्। यसै गरी पश्चिम जिल्ला पार्टी अध्यक्ष दिगम सुब्बाले सिक्किममा सरकार बनाउन र सरकार लड़ाउनमा पश्चिम जिल्लाले सदैव महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै भाजपाले पनि पश्चिम जिल्लालाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताए। उनले अहिलेको घड़ीमा भाजपा पश्चिम जिल्लामा मजबुत हुँदै गएको बताए। सोही प्रकारले गान्तोकका विधायक वाइटी लेप्चाले आफ्नो सम्बोधनमा कार्यकर्ताहरू संघर्षशील रहने अनि पार्टीको दिशा निर्देश अनि सिद्धान्त अन्तर्गत निरन्तर सक्रिय रहने आह्वान गरे। यसै गरी निवर्तमान महासचिव एसबी कार्कीले पार्टीको सांगठनिक ढाँचा अनि कार्यपद्धतिबारे कार्यकर्ताहरूलाई अवगत गराएका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!