सिक्किम भाजपा दुई भागमा विभक्त, पार्टीकै सचिवले उठाए विधायकहरूमाथि प्रश्न
गान्तोक, 13 अप्रेल। भारतीय जनता पार्टी (भाजपा) सिक्किम राज्य एकाई दुई भागमा विभक्त भएको स्पस्ट देखापरेको छ। भाजपा राज्य एकाईका सचिव लातेन शेर्पाले आइतबार सामाजिक सञ्जालमा जारी गरेको एउटा भीडीयो सन्देशबाट यो स्पष्ट भएको हो। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-बाट भाजपामा सामेल हुने दस जना विधायकहरूलाई लिएर लातेन शर्पाले प्रश्न उठाएका छन्। हाल कोविड-19को महामारीको समय दस विधायक निस्कृय बनेको उनले आरोप लगाउँदै भाजपा कै अन्य दुई विधायक वाईटी लेप्चा र सोनाम भेञ्चुङपाको उनले प्रसंसा गरेका छन्। दुई विधायकले अहिले जनताको पक्षमा काम गरिरहेको तर अन्य दस विधायक मिस्टर इण्डिया जस्तो निखोज भएको लातेन शेर्पाको आरोप रहेको छ। कोविड-19-को यस महामारीको समय उनीहरू कहीं देखा नपरेको पनि लातेन शेर्पाले आरोप लगाएका छन्। एसडीएफबाट 10 जना विधायक भाजपामा सामेल भएदेखि नै लातेन शर्पाको असन्तुष्टी अघिबाटै देखा परेको हो। यसै सम्बन्धमा लातेन शेर्पाले एक अज्ञात व्यक्तिसँग टेलिफोनिक वार्तालाप गरेको अडियो सामाजिक सञ्जालमा अघिबाटै चर्चामा आइसकेको छ। हालै सिक्किम भाजपा राज्य अध्यक्षको चुनाउलाई लिएर पनि सिक्किम भाजपा बीच मतभेद देखा परेको थियो। दस जना विधायकमध्ये राज्य अध्यक्षको चयन गर्ने पक्षमा दस विधायक थिए भने राज्य एकाईको पुराना कार्यकर्ताहरूले डीबी चौहानलाई नै अध्यक्ष बनाउने प्रयास गरेका थिए र यसमा उनीहरू सफल पनि बने। डीबी चौहान पुनः अध्यक्ष भएपछि भाजपाका 10 जना विधायक खासै सक्रीयरूपमा देखा परेका छैनन्। डीबी चौहानको अध्यक्षको रूपमा पुनः नियुक्ति पछि भाजपा कार्यालयमा सम्पन्न भएको स्वागत कार्यक्रममा पनि उनीहरू दसै जना उपस्थित थिएनन्। हालै भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले कोविड-19लाई लिएर सिक्किम भाजपा एकाईसँग एउटा भीडीयो कन्फ्रेन्सिङ गरेका थिए जसमा दस जना विधायकको सहभागिता थिएन भने विधायकको रूपमा मार्ताम रुम्तेकका विधायक त्यस भीडीयो कन्फ्रन्समा सामेल थिए। लातेन शेर्पाले हिजो जारी गरेको भीडीयो सन्देश अनि सिक्किम भाजपाको गतिविधिहरूमा 10 जना विधायकको अनुपस्थितिले सिक्किम भाजपामा विभाजन भएको सङ्केत देखा परेको छ।
अर्कोतर्फ कोविड-19लाई लिएर अप्पर बुर्तुकका विधायक डीआर थापाले श्रमिकहरूको मुद्दालाई उठाएर दुईचोटी प्रेस विज्ञप्ति जारी गरेका छन् भने मानेबुङ देन्तामका विधायक एनके सुब्बाले आफ्नो तलबबाट देन्ताम स्थित प्राथमिस स्वास्थ्य केन्द्रलाई एक लाख रुपियाँ प्रदान गरेका छन्। कोविड-19लाई लिएर आज मात्र जङ्गू निर्वाचन क्षेत्रका विधायक पिञ्छो नाम्ग्याल लेप्चाले एउटा प्रेस विज्ञप्ति जारी गरेका छन्। यी तीन विधायकलाई छोडेर भाजपाका अन्य विधायकहरू कोविड-19को समय निस्क्रियारूपमा रहेको देखापरेको छ। यस सम्बन्धमा भाजपाका एक विधायकलाई प्रश्न गर्दा उनले भने, जनतामा जानको निम्ति हामीले प्रशासनबाट धेरैचोटी अनुमति माग्यौं तर प्रशासनले हामीलाई अनुमति प्रदान गरेन त्यसैले हामी जनतामा जान सकेनौं।( प्रकाश अधिकारी)