गान्तोक, 19 फरवरी। हिमाली राज्य सिक्किमको विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एस़डीएफ) पार्टीको समन्वय सभा आज बाईपासस्थित पार्टी मुख्यालयमा पार्टी अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चामलिङको अध्यक्षमा सम्पन्न भयो। आजको सभामा एसडीएफका पूर्व विधायक, पूर्वमन्त्री, पूर्व विधानसभा अध्यक्षहरू तथा पूर्व सांसदहरूको विशेष उपस्थिति रहेको थियो। सभाको प्रारम्भिक चरणमा छिमेकी देश नेपालमा हालैमा यालम्बर पुस्कार, साङ्गीतिक क्षेत्रमा योगदान पुर्याउनु भएवापत अभिनन्दन, प्रज्ञा प्रतिष्ठानद्वारा गरिएको अभिनन्दन आदिले सम्मानित भएकोमा पार्टी अध्यक्ष एवं पवन चामलिङलाई सबैले हार्दिक बधाई टक्राए।
सभाको औचित्य र उद्देश्यसँगै स्वागत सम्बोधन पूर्व विधानसभामा अध्यक्ष एवं प्रशासनिक मामिला उपाध्यक्ष के. टी ग्याल्छेनले राखे। सभामा खुल्ला बहसको क्रममा पूर्व मन्त्रीहरू आर. बी. सुब्बा, डी. बी. थापा, जी. एम. गुरूङ तथा पूर्व सांसद भीम दाहालले आफ्ना मन्तव्य राखेका थिए। आजको सभामा विशेष रूपले सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीलाई अझ मज्बूत, सशक्त र सक्रिया तुल्याउने पक्षमा विभिन्न छलफल गरिएको प्रवक्ता कृष्ण खरेलले प्रेस बयान जारी गर्दै बताएका छन्।
एसडीएफ अध्यक्ष पवन चामलिङले उपस्थित सबैलाई धन्यवाद दिँदै सभा सिक्किम र सिक्किमे जनताको भविष्यको चिन्तन गर्ने सभा रहेको बताए। एसडीएफ पार्टी विज्ञान र सत्यको आधारमा चल्ने पार्टी भएकोले सबैलाई सिक्किम र सिक्किमेका हित तथा सुरक्षाको पक्षमा जिम्मेवारी बहन गरिदिने आग्रह पनि अध्यक्ष चामलिङले गरे। सिक्किम र सिक्किमे तथा राज्यको प्रजातान्त्रिक पद्धतिलाई बचाउन एसडीएफ कटिबद्ध रहनुपर्ने उनले मन्तव्य व्यक्त गरे। यसरी नै सिक्किमे जनताको निम्ति पार्टीमा सैद्धान्तिकरूपमा एकजुट भएर काम गर्ने साथै मनबाट कोही पनि नहार्ने आग्रह गरेर एसडीएफ पार्टीलाई सक्रिय र जुझारू बनाउनु अनिवार्य रहेको बताए। सभामा प्रशासन महासचिव देव गुरूङले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव आमोस आर. लेप्चाले गरेका थिए।