Loading... आजः शनिबार , श्रावण १२, २०८१

सिक्किम सरकारसित कोरोना विरूद्ध भाजपाले ऐक्यबद्धता जनाउँदछ भने विधायक दल तथा पार्टीमा अनेकताबारे उठेका प्रश्नहरू हल्ला मात्र हुन्- भाजपा विदायक दल


गान्तोक, 27 अप्रेल। भारतीय जनता पार्टी (भाजपा) सिक्किम राज्य एकाईका विधायकहरूले गत 25 अप्रेलको दिन भारतीय जनता पार्टीका कूल 7 जना विधायकले राज्यका मुख्यमन्त्री पीएस तामाङ (गोले)-लाई उनको निजी निवासमा भेट गरेर वर्तमानको कोविड-19 को संकटको समयमा सम्पूर्ण भाजपा विधायक दलको तर्फबाट राज्य सरकारलाई एक्यबद्धता जनाएको छ। भाजपा सबै विधायकहरू लिएर मुख्यमन्त्रीसित भेट गर्ने योजना रहे तापनि वर्तमानको लकडाउनको कारण कतिपय विधायकहरू उपस्थित रहन असमर्थ भएको कारण हामी सातजना मात्र उपस्थित रहन सकेको बताए। यद्यपि, यस विषयलाई लिएर कतिपय जनमानसमा अन्योलताको स्थिति सृजना भएको अनि विधायक दलमा एकता नभएको भन्ने कुराहरू विभिन्न माध्यमहरूबाट उठिरहेको देखियो। यसअतिरिक्त कतिपय अड्कलबाजीहरू पनि जनमानसमा प्रवाह भएको देखियो भन्दै यस सन्दर्भमा विधायक दलले स्पष्टिकरण दिँदै भनेका छन्, यस संकटको घड़ीमा भारतीय जनता पार्टीका सबै 12 विधायकगण, पार्टी कार्यकर्तागण तथा पदाधिकारीहरू आ-आफ्नो स्तरबाट जनमानसको सेवामा निरन्तर लागिपरेका छौं।

भाजपा विधायक दलले प्रेस बयानमा भनेको छ 25 अप्रेलको दिन मुख्यमन्त्रीसित भेटवार्ताको क्रममा सातजना विधायकको तर्फबाट मुख्यमन्त्री राहत कोषमा सहयोग राशि पनि हस्तान्तरण गरियो। यस अघि भाजपा विधायक एनके सुब्बाले देन्ताम प्राथमिक स्वास्थ्य केन्द्रमा आफ्नो तर्फबाट सहयोग राशि प्रदान गरिसकेका थिए भने अन्य दुई विधायक वाईटी लेप्चा अनि एसटी भेन्चुङ्पाले अगावै मुख्यमन्त्री राहत कोषमा सहयोग राशि प्रदान गरिसकेका छन्। मुख्यमन्त्रीसितको भेटघाटमा विधायकद्वय डीटी लेप्चा अनि उगेन ग्याछो भोटिया पनि उपस्थित रहने कार्यक्रम भए तापनि उनीहरू लकडाउनको कारण उपस्थित हुन असमर्थ भएपछि लकडाउनको समापनपछि उनीहरूले मुख्यमन्त्री कोषमा सहयोग राशि प्रदान गर्ने निर्णय भएको छ। यसर्थ, भाजपा विधायक दल तथा पार्टीमा अनेकताबारे उठेका प्रश्नहरू अनि अड्कलबाजीहरू केवल अफवाह मात्र हुन् अनि सम्पूर्ण सिक्किमे जनतासमक्ष यस्ता अफवाहहरूमाथि ध्यान नदिन आग्रह गर्दै सिक्किमे जनताको पक्षमा भारतीय जनता पार्टी सम्पूर्ण कार्यकर्ता, विधायकदल अनि कार्यकर्ताहरू एकबद्ध भएर काम गरिरहेको अवगत गराउन चाहन्छौं भनि प्रेस बयानमा उल्लेख गरिएको छ।
यसै गरी मुख्यमन्त्रीसँगको भेटघाटमा राङगाङ-याङगाङ क्षेत्र विधायकको तर्फबाट राज्य सरकारसमक्ष समग्र सिक्किमे जनताको हितमा चारबुँदे माग पनि पेश गरिएको छ। जसमा देशव्यापी लकडाउनको कारण जनताको खस्कँदो आर्थिक स्थितिलाई ध्यानमा राख्दै मार्च, 2020 देखि आगामी चार महिनाको बिजुलीको बील माफ गरिदिनुपर्ने। यसैगरि असंगठित क्षेत्रका कामदारहरू, स-साना व्यवसायीहरू अनि दैनिक ज्यालामा कामगर्नेहरूको निम्ति आर्थिक सहयोग गर्नुपर्ने। वर्तमानमा प्रदान गरिँदै गरेको राहत सामग्री वितरणमा एक परिवार एक नोकरी अनि एमआरका कर्मचारीहरूलाई पनि समावेश गरिनुपर्ने अनि ब्यांकबाट लोन लिएर इन्सटलमेन्टमा लोन तिर्दै गरेका वाहन चालकवर्ग तथा स-साना व्यवसायीहरू जो यस लकडाउन अवधि आर्थिक मारमा परेका छन्, उनीहरूलाई सरकारको तर्फबाट राहत दिइनुपर्ने माग सरकारसमक्ष गरिएको छ।
उपरोक्त माग भाजपा विधायक दलको तर्फबाट सम्पूर्ण सिक्किमे जनताको हितमा सरकारसमक्ष राखिएको छ भने मुख्यमन्त्रीले पनि यस विषयमा सकारात्मक आश्वासन दिएको विधायक दलले जारी गरेको प्रेस बयानमा उल्लेख गरेको छ। यसैगरि भाजपी विधायक दलले देशमा बढ्दो कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राखेर आफूलाई सतर्क र सुरक्षित राख्न सबैलाई सरकारद्वारा जारी निर्देशनहरू कड़ाईका साथ पालन गर्ने अनि कोरोनामुक्त राज्यको गरिमालाई आगामी दिनमा पनि कायम राख्नुपर्ने सम्पूर्ण सिक्किमवासीमा अपील गरेका छन्।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!