सिमेन्टमा प्रयोग हुने कच्चापदार्थका लागि भारतको भर
सरकारले सिमेन्टमा प्रयोग हुने कच्चापदार्थका लागि खानी सञ्चालन गर्न दिने भने पनि अहिलेसम्म चलेका छैनन्। बर्खाअघि नै स्वास्थ्य सुरक्षा अपनाएर खानी सञ्चालनको माग गर्दै आएका उद्योगीले माग पूरा नभएपछि अहिले भारतबाट कच्चापदार्थ ल्याउन थालेका छन्। खानीसम्म पुग्ने बाटो कच्ची र पहिरो जाने खतराका कारण बर्खामा खानी चल्दैनन्। त्यसैले बर्खाअघि नै प्राय: सबै उद्योगले खानीबाट चुनढुंगा ल्याएर जम्मा गर्छन्, जसले गर्दा वर्षामा सिमेन्ट उत्पादनमा कुनै असर पर्दैन। तर लकडाउनले गर्दा कुनै पनि उद्योगले चुनढुंगा जम्मा गर्न पाएका छैनन्।
‘सरकारले उद्योग खोल्न दिने निर्णय गरे पनि खानी सञ्चालन गर्न सकिएन,’ नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भन्नुभयो, ‘कतै स्थानीय तहले सहजीकरण गरिदिएनन् त, कतै प्रशासनले।’ उहाँका अनुसार देशभर ६१ वटा सिमेन्ट उद्योग छन्। त्यसमा चुनढुंगामा आधारित २१ उद्योग छन् । पूर्ण रूपमा कुनै पनि उद्योग नचलेको अध्यक्ष थापाले बताउनुभयो। उद्योगमध्ये ८० प्रतिशत मात्र सिमेन्ट उद्योग चलेका छन्, त्यो पनि औसतमा ४० प्रतिशत क्षमतामा चलेका छन्, उहाँले भन्नुभयो।
सरकारलाई पटकपटक ताकेता गर्दा पनि खानी चल्ने वातावरण नबनेको गुनासो गर्दै उहाँले स्वदेशमै कच्चापदार्थ नभएपछि भारतबाट ल्याएर सिमेन्ट उत्पादन गर्नुको विकल्प नहुने बताउनुभयो। कान्तिपुर अनलाइनका अनुसार अघिपछि सबै उद्योगले फागुनदेखि जेठसम्म चुनढुंगा ढुवानी गरेर राख्थे।
स्थानीय तह र प्रशासनसँग उद्योगीले खानीबाट ल्याएर वर्षामा चल्ने सडक छेउमा जम्मा गरेर पछि त्यहाँबाट ढुवानी गर्ने वातावरण बनाइदिन माग गरेका थिए। यसबारे कसैले पनि चासो नदिएको उद्योगीले बताए। अब महँगोमा भारतबाट कच्चापदार्थ ल्याएर सिमेन्ट उत्पादन गर्नुपर्ने हुन्छ, जसले गर्दा सिमेन्टको मूल्य पनि बढ्छ। बजारमा कुल उत्पादनको करिब ४० प्रतिशत मात्र माग छ।’ भारतबाट क्लिंकर ल्याउँदा अर्बौं रुपैयाँ बाहिरिनेछ । थापाका अनुसार दैनिक सिमेन्ट उत्पादन क्षमता ५० हजार टन छ। गत वर्षको तथ्यांकअनुसार औसत दैनिक ३० हजार टन सिमेन्ट खपत हुने गरेको छ। सिमेन्ट उद्योगमा २० हजार प्रत्यक्ष रोजगार छन्। अप्रत्यक्ष रोजगार १ लाख छन्।
गत साउनदेखि वैशाखसम्म १० महिनामा भारतबाट सिमेन्ट ३६ करोड ८६ लाख ४ हजार ८ सय ३५ किलो क्लिंकर आयात भएको भन्सार विभागको तथ्यांक छ। यसका लागि २ अर्ब ५६ करोड रुपैयाँ बाहिरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि लकडाउनपछि पहाडी इलाकामा रहेका खानीबाट चुनढुंगा ल्याउन नसकिएको बताउनुभयो। खानी चलाउन निकै प्रयास गरे पनि स्वीकृति नै नपाइएको बताउँदै उहाँले भन्नुभयो, ‘केही उद्योगको बाह्रै महिना चल्ने खानी छन्, जुन एकदमै थोरै संख्यामा छन्, प्राय: उद्योगमा ५ महिनाभन्दा बढी खानी चल्दैन।’
तपाइँकाे प्रतिक्रिया
