Loading... आजः शनिबार , श्रावण १२, २०८१

सीमावर्ती क्षेत्रमा सेनाको सामान ओसार्न भरियाको भर्तीमा उर्लियो युवाहरूको भीड


गान्तोक, 24 मई। सिक्किमको सीमावर्ती क्षेत्रमा रहेको भारतीय सेनालाई सामन ओसार्न सहयोगको निम्ति प्रतिवर्ष गरिने मौसमी भरिया भर्तीमा यसपाली निक्कै बाक्लो भिड जम्यो। पूर्व सिक्किमको निम्ति भनेर भारतीय सेनाले 6 सय भरियाको निम्ति आवेदन मागेको थियो जसमा रोङली, क्योङन्सलामा अगावै भर्ती लिइएको छ भने बुधबार यहाँको देउराली स्थित डिफेन्स अडोटेरियम परिसरमा भरियाको निम्ति भर्ति खोलिएको थियो। जहाँ राज्यको चारै जिल्लाबाट सयौंको संख्यामा युवाहरू रोजगारको निम्ति आएका थिए। विशेष रूपले मौसमी हिसाबमा भर्ना गरिने यो प्रक्रियामा यसपाली भने कोविड 19 को महामारीले धेरै उद्योग धन्दा र अन्य आर्थिक उपार्जन गर्ने माध्यमहरूमा धक्का पुगेपछि युवाहरूले रोजगारको यो अवसरलाई निक्कै गम्भीरतासित लिएको देखियो। युवाहरूमा कतिजना अन्य राज्यहरूमा गएर काम गर्दै गरेकाहरू घर फर्किआएपछि बेरोजगार बनेकाहरूदेखि लिएर स्नातकोत्तर सकेर अथवा कलेज सकेर बसेका वा 12औं श्रेणीको परिक्षा दिएर बसेका घरमा बस्दै आएको युवाहरू धेरै देखिएको छ। यसैगरि ट्याक्सी चालक, मजदूरी गर्दै गरेका तथा अन्य क्षेत्रमा काम गरिरहेका युवाहरू पनि सेनाको सामान ओसार्ने भरियाको भर्तीको निम्ति ताँतमा उभिएर दिनभरि प्रतिक्षा गरिरहेको देखियो। युवाहरूले सेनाको निम्ति यसरी सहयोग गर्नु देशको निम्ति समर्पणको भाव पनि देखाएका छन् भने अहिले आर्थिक मन्दीको समय रोजगारको कमीलाई पुरा गर्ने एउटा अवसरको रूपमा पनि लिएको बताएका छन्। भर्ती लिन तैनाथ भएको सेनाका अधिकारीहरूले योपाली पछिल्लो समयभन्दा धेरै युवाहरूले यो कार्यको निम्ति उत्साह देखाएको बताए।
लगभग 6 महिनाको निम्ति लिइने यो भर्तीमा सेनाको खाद्य सामाग्री सीमावर्ती क्षेत्रमा रहेको वाहन नपुग्ने ठाउँमा लागे तथा खच्चडमा सामान लोड गर्ने जस्ता कार्यहरू गर्नुपर्ने राज्य सैनिक बोर्डका सचिव कर्नल डीएन भोटियाले बताए। यसैगरि यो सेवामा 21 हजार रूपियाँ भन्दा अधिक मासिक वेतन प्रदान गरिने भएको कारण पनि युवाहरूलाई आकर्षण गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!