जम्मू-कश्मीर 10 जुलाई। देशको सीमा रक्षामा खटिएका एकजना गोर्खा सैनिकले ज्यान गुमाएका छन्। जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना गोर्खा सैनिक शहीद बनेका छन्।
एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि असार ८ गते जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीले ज्यान गुमाएको थियो। युद्धविरामलाई उल्लंघन गर्दै शुक्रवार बिहान एक बजेतिर पाकिस्तानी तर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका नेपालको गुल्मी जिल्ला निवासी हवलदार सम्बर गुरुङको शहीद भएको भारतीय सेनाले जनाएको छ। गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा मृत्यु भएको हो।
जम्मु स्थित रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्दर आनन्दले भने, `हवल्दार सम्बुर गुरुङ साहसी, उत्प्रेरित अनि इमानदार सैनिक थिए, देशले उनको त्याग अनि देशभक्ति याद राख्नेछ।´