सी चिनफिङको भाषण संग्रह सार्वजनिक
अमेरिकासँगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे अमेरिकी दूतावासले १० बुँदे स्पष्टीकरण सार्वजनिक गरेपनि सत्तारुढ दल नेकपाका स्थायी समितिका नेताहरुले झन् शंकास्पद दृष्टिले हेरेका छन्।
पार्टीको बैठकमै चर्को कुरा उठाउने नेताहरुले बुधबार चीनका राष्ट्रपति सी चिनफिङको भाषण संग्रह सार्वजनिक गर्न राजधानीमा आयोजित पुष्पलाल मित्राता केन्द्रद्वारा आयोजित कार्यक्रमबाट अब एमसीसी अन्तर्गत सञ्चालित हुने आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै सार्वजनिक गर्नुपर्ने माग गरेको कान्तिपुर अनलाइनले जनाएको छ।
स्थायी समिति सदस्य लिलामणी पोखरेल, मुकुन्द न्यौपाने, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले दूतावासको स्पष्टीकरणको भरमा मात्र एमसीसीलाई संसदबाट अनुमोदनको प्रक्रियामा लैजान नसकिने टिप्पणी गरे। चीनतर्फबाट आउने रेललाई रोक्न अमेरिकाले ट्रान्समिसन लाइन बनाउने रुट नुवाकोटबाट हेटौंडा, तनहुँ, पाल्पा हुँदै बुटवलको रुट रोजेको उनीहरुको आरोप छ। ‘हामीले चीनबाट रेल ल्याउने कुरा गरेका छौँ। त्यही रेलको बाटोमा पार्ने गरी ट्रान्समिसन लाइन बनाउने गरी परियोजना तय गरिएको छ,’ पुष्पलाल मित्रता केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य पोखरेलले भन्नुभयो। उहाँले एमसीसीको विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक नगरेकोमा आपत्ति जनाउनुभयो। ‘प्रसारण लाइन काठमाडौंको लप्सीफेदी हुँदै नुवाकोट रातमाटे पुर्याउने र त्यसपछि हेटौंडा हुँदै तनहुँबाट बुटवल पुर्याउनुको उद्देश्य के हो? यसबैबाट छर्लङ हुन्छ,’उहाँले भन्नुभयो,’आयोजनाको डीपीआर चाहिन्छ।’
कार्यक्रममा नेकपा प्रमुख सचेतक देव गुरुङले संसारभर साम्राज्यवादी गतिविधि बढि रहेकाले त्यसकै बाछिटाहरु आइपुगेको बताउनुभयो। अर्का स्थायी समिति सदस्य न्यौपानेले समाजवादी बाटोमा जाने दिशामा सरकारका काम अघि नबढेको भन्दै अहिले आइरहेको विदेशी सहयोग सम्झौतामा प्रश्न उठाउनुभयो।
केन्द्रीय सदस्य खतिवडाले एमसीसी परियोजनामा संलग्न रहने अमेरिकी नागरिकलाई फौजदारी अपराधमा संलग्न भएपनि नेपालमा मुद्दा चलाउन नपाउने सम्झौताको सर्त आपत्तिजनक भएको बताउनुभयो। सम्झौताकै सर्तहरुका कारण पछि नेपालमा आयोजना सुरक्षाका हाम्रो आफ्नै सुरक्षाकर्मीमात्र राख्न नपाउने अवस्था पनि आउनेतर्फ उहाँले सचेत हुनुपर्ने बताउनुभयो।
नेकपाका नेता कार्यकर्ताहरु उपस्थित रहेको कार्यक्रममा एमसीसीमाथि नेताहरुले कडा कुरा गरे। तर कार्यक्रममा उनीहरुले चीन भने समाजवादको पवित्र उद्देश्यले संसारको मानव कल्याणका लागि अघि बढि रहेका भन्दै प्रसंशा गरे। उनीहरुले चीनले सञ्चालन गरेको बीआरआई सही खालको नीति भएको बताए। त्यस अवसरमा पुष्पलाल मित्रता केन्द्रले चीनका राष्ट्रपति सी चिनफिङको भाषणहरुको संग्रह भाग एक र भाग दुई सार्वजनिक गरेको थियो।