सुरक्षा स्वार्थ जोडिएका विदेशी सहायता लिन्नौ: अध्यक्ष प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले सैन्य गठबन्धनमा जोडिने अभिप्रायको कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार नगर्ने बताएका छन्। अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतालाई लिएर नेकपाभित्र विवाद भैरहेका बेला अध्यक्ष दाहालले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शुक्रबार भिडियो कार्यशालामा अमेरिकाको नाम नलिई पार्टी नीतिबारे यस्तो बोलेका हुन्।
दाहालले सुरक्षा स्वार्थ जोडिएका र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले नस्वीकार्ने नीतिबारे भने, ‘संविधानको मर्मबाहिर हुने गरी तथा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने अर्थ दिने सहयोग नेपाललाई कुनै स्वीकार्य छैन। नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ। नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौं।’दाहालसहित नेकपामा धेरै नेता यथास्थितिमा एमसीसी अनुमोदनको पक्षमा छैनन्।
यसबाहेक दाहालले भारतको नाम नलिई उसँगको सीमा विवादमा नेपालको पोजिसनबारे पनि बोलेका छन्। नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको भन्दै दाहालले द्विपक्षीय विषय संवादबाट समाधान गर्न सकिने बताए। ‘मित्र राष्ट्रहरूसँगका द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौं। तर, वार्ता र संवाद सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा टेकेर मात्रै हुन्छ,’दाहालको भनाई थियो, ‘नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित छ।’
दाहाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याए। दाहालले भूकम्पमा जस्तै चीनले कोभिड–१९ को महामारीमा नेपाललाई सहयोग गरेकोमा प्रशंसा गरे। नेपाल र चीन सुख र दुःखका मित्र भएको उनको भनाई थियो। दाहालले कुनै पनि देशले कोरोना भाइरसबारे राजनीति गर्न नहुने बताए। दाहालले कोभिड– १९ को महामारी सकिएलगत्तै आफू चीन भ्रमणमा जाने पनि बताएकाेे ईकान्तिपुरले लेखेको छ।