गान्तोक, 23 फरवरी। सिक्किमको नेपाली साहित्य परिषदमा सिक्किमेली साहित्यकारद्वय अमर बानियाँ लोहोरो र चन्द्र दुलालको संयुक्त प्रयासमा केही वर्ष अघि थालिएको प्रतिभा मिलन कार्यक्रम कोही समयदेखि बन्द अवस्थामा रहेको थियो भने आजदेखि पुनः सञ्चालनमा आएको छ। नेपाली साहित्य परिषदको मातहतमा शुरु गरिएको प्रतिभा मिलन कार्यक्रम परिषदका अध्यक्ष रूद्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो। परिषदको कार्यालयमा आयोजित कार्यक्रममा कविता, कथा वाचनसितै लोक धून र संगीतको प्रतिभाहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। यसैक्रममा साहित्यकार चक्रपाणी भट्टराईको कृति बाघको दुध र साहित्यकार टिका ढुङ्गेलको पत्र सङ्कलन पत्र सम्बन्ध र समिक्षा सङ्कलन कृतिका स्मृतिहरू अतिथिहरूको हातबाट लोकार्पण गरियो। प्रतिभा मिलन कार्यक्रम पछि मिडियासित छुट्टै कुराकानी गर्ने क्रममा यो पुनः शुरुआत भएकोमा संस्थापक सदस्य अमर बानियाँ लोहोरोले खुसी व्यक्त गरेका छन्। उनले यसरी केही अन्तरालपछि शुरु भएको प्रतिभा मिलनको शुरआतको अवधारणा सिक्किमको हरेक क्षेत्रमा कला साहित्य र प्रतिभाको निम्ति मञ्च प्रदान गर्ने र ठाउँ ठाउँमा यसको शाखा बनाएर विचार शब्दको क्रान्तिको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको भएको तथा धेरैजनालाई सम्मान गर्ने तथा उनीहरूको प्रतिभाको मान बढाउने कार्य गरिको बताए। यसभन्दा अघि पनि नेपाली साहित्य परिषदकै पहलमा बन्द रहेको प्रतिभा मिलन शुरु गरिएको अनि त्यसपछि पुनः स्थगित रहेको कार्यक्रम पुनः सञ्चालन गरिनु खुसीको कुरा रहेको बताउँदै अब उसो यसलाई अझ समय सापेक्ष प्रविधि सापेक्ष बनाउने दिशामा पहल गर्दै लाने कुरामा ध्यान पुऱ्याउनु पर्ने बताउँदै उनले साहित्य परिषदलाई धन्यवाद र शुभकामना पनि व्यक्त गरे। आजको कार्यक्रममा लोकार्पित पुस्तकबारे टीका ढुङ्गेलको पुस्तकहरूबारे एऩपीएस निरौलाले समिक्षा राखेका थिए भने चक्रपाणी भट्टराईको पुस्तकबारे अर्जुन पियुषले समिक्षा प्रस्तुत गरेका थिए। कार्यक्रममा सिक्किममा युवा तथा वरिष्ठ साहित्यकारहरूले आ-आफ्नो रचना पाठ गरेका थिए।