गान्तोक, 03 मार्च । भारतेली नेपाली भाषी गोर्खा समुदायको स्थायी राजनीतिक समाधान र छुटेका 11 जात गोष्ठिलाई जनजातिको दर्जा दिनुपर्ने मागबारे पुनः याददास्त पत्र राष्ट्रिय सत्तारूढ़ भारतीय जनता पार्टीका महासचिव राम माधवलाई बिमल गुरूङको नेतृत्वमा रहेको गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिहरूले चड़ाएको छ। महासचिव माधवलाई गोजमुमोका सुश्री उर्मिला रूम्बा, डा बिनु सुन्दास अनि अनिल लोपचनले उक्त याददास्त पत्र बुझाएका हुन्। उक्त याददास्त पत्रमा गोर्खा जातिको दिर्घकालिन मागको स्थायी समाधान र गोर्खा जातिभित्र छुटेका 11 जात गोष्ठिलाई जनजातिको मान्यता विषयमा यथाशीघ्र पहल गरिदिने आग्रह गरिएको छ। यसैगरी, यी दुईवटा मागहरूबारे चाप सृष्टि गर्दा सबैसित बात भइरहेको र भाजपाको संकल्प पत्रमा उल्लेखित जति पनि विषयहरू छन्, त्यसबारे न्याय गर्ने आश्वासन प्राप्त भइरहेको गोजमुमोले प्रेस बयानमा बताएको छ। यसैगरी, महासचिव राम माधवले पनि संकल्प पत्रमा उल्लेखित विषयहरूमा हामी समयमै पूरा गर्छौ भनी वचन दिएको र धैर्य धारण गरेर बस्ने अनि गोर्खा जातिले अब न्याय पाउने समय भएको टोलीका सदस्यहरूलाई जानकारी गराएका छन् भने विज्ञप्तिमा उल्लेख गरिएको छ।