गान्तोक 21 मार्च। सिक्किमको राजधानी गान्तोकको लाल बजार स्थित मासु पसलहरूले स्वच्छतालाई ध्यान नदिएको भेटिएपछि एक हप्ताको निम्ति बन्द गरिएको छ। गान्तोक नगर निगम र पशुपालन तथा चिकित्सा विभागको तत्परतामा आयोजित छड्के जाँच टोलीले लालबजारको मासु दोकानहरू फोहोर पाराले चलिरहेको भेटे पछि स्वच्छता अवलम्बन गर्नलाई एक हप्ताको निम्ति बन्द राख्ने निर्देश जारी गरेको छ। नगर निगमका मेयर शक्तिसिंह चौधरी, पशुपालन विभागका अतिरिक्त निर्देशक डॉ. मदन शङ्कर अनि बजार अफिसर योगन स्याङदेनको उपस्थितिमा गरिएको निरिक्षणमा धेरै कमी भेटिएपछि सबै पसलेहरूलाई दोकानको साफसफाई र रङ्ग पचेरा सितै आवश्य मानदण्ड पुरा गर्न एक हप्ताको समय दिइएको छ।
पशुपालन विभागका अतिरिक्त निर्देशक डॉ. शंकरले दोकानहरूमा केवल काटेको मासु बिक्रि गर्ने अनुमति भएर पनि त्यसको पालन नगरिएको अनि जिउँदो कुखुराहरू काट्ने कार्य भइरहेको बताए। उनले हिज मात्रै एक गाडी जिउँदो र काटेको कुखुरा मिसाएर ल्याइदै गरेको फेला परेको अऩि विभागले जफ्त गरेर सुरक्षीत ढङ्गले टुङ्गो लगाएको बताए। मासु पसलहरूमै काटेर मासु बेच्दा धेरै संक्रमणहरू फैलिन सक्ने सम्भावना रहेको हुनाले यस्तो नगर्ने निर्देश पनि दिए। लाल बजारको मासु पसलबाट रगतको नाली बगिरहेको अनि यस्तो रगतहरू विभिन्न भाइरसलाई फैलिने सजिलो माध्यम बन्न सक्नेभएको कारण यो रोक्न स्वच्छ राख्नु पर्ने र दोकानमा काट्ने प्रथा पूर्ण रूपमा बन्द गर्नुपर्ने रहेको हुनाले यस्तो निर्णय लिइएको बताए।