गान्तोक, 25 जनवरी। आयुश्मान भारत कार्यक्रम अन्तर्गत सिक्किम सरकारको स्वास्थ्य विभागमा मिट लेवल हेल्थ प्रोवाइडर (एमएलएचपी)-को परिक्षामा व्यापक धाँदली भएको खुलासा भएको छ। स्वास्थ्य विभागको अतिरिक्त निर्देशक डा. सोनाम इथेन्पा स्वयंले सामाजिक सञ्जाल (फेसबुक)मार्फत चयन प्रक्रियामा व्यापक अनियमितता भएको मुद्दा उठाउँदै आपत्ति जनाउनुले साँच्चै स्वास्थ्य विभागको एमएलएचपी चयन प्रक्रियामाथि प्रश्न चिन्ह लागेको छ। डा. इथेन्पाले 45 जना एमएलएचपी-को प्रवेश परिक्षामा चयन हुनु पूर्ण रूपमा गलत छ। जम्मा 254-जना आवेदन प्राप्त भएको थियो जसमा जीएनएम, बीएससी नर्सेसको निम्ति रहेको अस्थायी 45 पदको निम्ति परिक्षा भएको थियो। जसमा परिक्षामा 60 अङ्कको लिखित र 40 अङ्कको अन्तरवार्ता गर्नु उचित नरहेको उनले बताएका छन्। वास्तवमा 90 अङ्कको लिखित परिक्षा र 10 अङ्कको भाइवा हुनुपर्ने हुँदा लिखित परिक्षाको आधारमा सही उम्मेद्वार चयन गर्न सकिने नकी अन्तरवार्ता मार्फत उनले भनेका छन्।
उनले भाइवा बारे एमडी/एनएचएम-ले 40 अङ्कको हुनुपर्ने सूचित गरेको भएपनि यो अनियमितता बारे मेरो कर्तव्य भएकोले अवगत गराउन चाहेको बताएका छन्। हिजो एमएलएचपी-को 45 पदको निम्ति भएको अन्तरवार्ताको उनले कडा प्रतिक्रिया व्यक्त गरेका छन्। यसरी धेरै अङ्क अन्तरवार्तामा राखिएपछि लिखित परिक्षामा धेरै अङ्क ल्याउने अर्थात सही प्रतिस्पर्धीले चयन हुने अवसर नपाउने कुरा पनि उठान गरेका छन्। अर्कोतिर देशको सर्वोच्च अदालत अनि उच्च अदालतरूले तथा भारतीय प्रसाशनिक सेवाले तथा अन्य प्रसाशनिक सेवाको निम्ति पनि 12.2 प्रतिशत भाइवाको अङ्क राखेको छ। यहाँ उल्लेखनीय कुरा के छ भने, सरकारले राज्यबाट अन्तरवार्ता अर्थात भाइवा प्रथा हटाएर लिखित परिक्षाको आधारमा नै सरकारी सेवामा नियुक्ति दिने घोषणा गरिसकेको भएपनि अहिले आएर त्यसैको विपरित सरकारी तन्त्रले भने कार्य गरिरहेको सरकारको नीति र अफिसर तन्त्रमा तालमेल नभएको प्रष्ट देखिएको छ।