हामीले कोरोना र नश्लीय भाइरससित जुझ्न पर्दैछ तर हाम्रो जीत निश्चित छ- विमल गुरुङ
गान्तोक, 23 मार्च। भारतमा छुट्टै राज्य गोर्खाल्याण्डको माग लिएर भूमिगत रहेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले लामो समयपछि भीडीय सन्देश जारी गर्दै जनतासित भर्चुअल सम्पर्कमा आएका छन्। उनले देशका प्रधानमन्त्री नरेन्द्र मोदीले कोविड-19 अर्थात कोरोना भाइरससित जुझ्न देशवासीलाई दिएको निर्देशको समर्थनमा उभिँदै स्वास्थ्य सुरक्षाको निम्ति सबै पहाड तराई र डुवर्स तथा आम भारतीयले स्वच्छता र आवश्यक निर्देश पालन गरिदिने आह्वान गरेका छन्। उनले भीडीयो सन्देशमार्फत भारतेली गोर्खा र पूर्वोत्तरका भारतीयले कोरोनासितै अर्को नश्लीय भेदभावको भाइरससित पनि जुझ्न परिरहेको बताएका छन्। उनले देशका ठूला ठूला शहरहरूमा पूर्वोत्तर राज्य र गोर्खालीहरूले कोरोना भाइरसको कारण भाइरससितै नश्लीय भेदभावको सिकार हुनुपरिरहेको बताएका छन्। यसकारण गोर्खाली समुदायले दुईवटा भाइरससित यतिखेर जुझ्न परिरहेको आफ्नो भीडीय सन्देशमा उल्लेख गरेका छन्। कोरोना सित लड्न सबै सचेत र स्वच्छतालाई ध्यान दिनुपर्ने आह्वान सितै चियाबारी, सिङ्कोनाबारी, गाउँ क्षेत्र सबैले निर्देशित सुरक्षाका उपायहरू सहीरूपमा अवलम्बन गर्नुपर्ने आह्वान गरेकाछन्। उनले सबैजना घरभित्रै बसेर कोरोनाको प्रकोपबाट देश समाज र आफूलाई सुरक्षित राख्ने आह्वान पनि गरेका छन्। यो महामारी विरुद्ध प्रधानमन्त्रीको आह्वानमा 22 मार्चको दिन देशले जनता कर्फ्यूलाई पालन गर्दै देखाएको एकतालाई निरन्तरता दिनुपर्ने र एकबद्ध भएर कोरोना भाइरस विरुद्ध लड्नुपर्ने देशवासीलाई आह्वान पनि गरेका छन्। यसरी नै गोर्खाली समुदायले दोहोरो भाइरसको मार झेल्नुपरिरहेको कुरालाई उल्लेख गर्दै यसबाट मुक्ति पाउने निश्चित रहेको र जीत हाँसिल गर्ने कुरामा विश्वास व्यक्त गर्दै सबैलाई आत्मविश्वास दिलाएका छन्। उनले घर साफसफाई सतै आफू पनि सफा बस्ने र आवश्यक सतर्कतालाई पूर्ण रूपमा पालन गर्ने आह्वान गरेका छन। उल्लेखनीय छ अध्यक्ष गुरुङ 2017-सालदेखि छुट्टै राज्य गोरखाल्याण्डको निम्ति भूमिगत रहेका छन्।