Loading... आजः शनिबार , श्रावण १२, २०८१

हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मल अभाव


 

किसानले हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मल अभाव भएको छ । हिउँदे खेतीअन्र्तगत किसानले तोरी छर्ने, तरकारी लगाउने बेलामा आवश्यक रासायनिक मल नपाएको गुनासो बढेको हो ।
उत्पादन बढी लिन बोट विरुवालाई चाहिने आवश्यक रासायनिक मल हाल्नुपर्ने बेलामा मल नपाएपछि कैलालीका किसान मलका लागि भौतारिन थालेका छन् ।
वर्खे धान बालीमा रासायनिक मल हाल्न नपाएर उत्पादनमा ह्रास आएको हुनाले हिउँदे सिजनको बाली राम्रो उत्पादन लिने किसानका सपना मल अभावले अहिले पनि  तुहिने सम्भावना बढेको छ । तोरी छर्ने बेलामा आवश्यक रासायनिक मल युरिया र डीएपी  नपाउँदा उत्पादन नहुने हो की भन्ने चिन्ता बढेको टीकापुर–१ का किसान सीता चौधरीले बताउनुभयो । ‘‘मल अभाव छ, खेती गर्ने बेलामा मल नपाए उत्पादन हुँदैन’’, सीता भन्नुहुन्छ, ‘‘मानिसले बस्तुभाउ पाल्न पनि छोडीसके, बस्तुभाउको मल पनि पाउन सकिदैन । यस्तो बेला कसरी खेती गर्नु ?’’
खेतीपाती गर्ने बेलामा रासायनिक मल अभाव झेलेको किसान हिउँदे खेतीका लागि पनि मल अभावमै खेती गर्नुपर्ने परम्परागत वाध्यताजस्तै बनिसकेको छ । हिउँदे बालीअन्र्तगत गरिने खेती र तरकारीबालीका लागि आवश्यक मात्रामा रासायनिक मल नपाउँदा हिउँदेबालीमा समेत उत्पादनमा कमी आउने टीकापुर–२ का रतनसिँह खड्काले बताउनुभयो । ‘‘बजारमा मल नै छैन, किसानका लागि आवश्यक मल, बीउ र सिँचाइ सहज पाए पो खेतीपातीमा मन लाग्छ ।’’
सुभाष विकले विगतका वर्षमा खेतीका लागि आवश्यक मल भारतबाट ल्याउनुहुन्थ्यो । यसवर्ष सीमा नाकामा कडाइ गरिएका कारण उहाँले पनि मल पाउनु भएन । ‘‘गतवर्ष सहजै भारतबाट मल ल्याइयो, यसवर्ष वर्खे खेतीका लागि पनि मल पाइएन’’, विक भन्नुहुन्छ, ‘‘मैले त यसवर्ष मल नपाएकै कारण सबै खेतमा मसुरो छरेको छु । मसुरोका लागि मल नभए पनि खासै असर गर्दैन ।’’
विकले करिव एक विघामा व्यवसायिक तरकारी खेती गर्नुहुन्थ्यो । यस वर्ष उहाँले आफूलाई खानका लागि मात्रै तरकारी लगाउने तयारी गर्नुभएको छ ।
कृषि सामग्री कम्पनी सुदूरपश्चिम प्रदेश कार्यालयमा अहिले युरिया र डीएपी मलको मौज्दात शून्य छ । कृषि सामग्री कम्पनीसँग ३ सय टन पोटास बाहेक अन्य रासायनिक मलको मौज्दात नरहेकाले तत्काल किसानले मल पाउने सम्भावना कम रहेको कृषि सामग्री कम्पनीका प्रमुख नवलसिँह बोगटीले बताउनुभयो । ‘‘किसानले अहिले पाउने अवस्था छैन, हामीसँग युरिया र डीएपी मलको मौज्दात शून्य छ’’, बोगटीले भन्नुभयो, ‘‘किसानका लागि आवश्यक मल माग भइरहेकाले तोरी र गहुँ खेतीका लागि दशैंपछि मात्र युरिया र डिएपी मल उपलब्धता हुनेछ ।’’
कृषि सामग्री कम्पनीले रु. १ हजार ६५२ मा युरिया, रु. ४ हजार ५५२ मा डीएपी मल बिक्रेता सहकारीलाई दिने र उक्त बितरकले रु. १ हजार ८०० मा युरिया र रु. ४ हजार ८०० मा डीएपी बेच्नुपर्ने  बोगटीले बताउनुभयो ।
कम्पनीले तोकेको मूल्यभन्दा बढीमा बेच्न पाइदैन तर पहिल्यै मल मौज्दाद राखेका केही कृषि सहकारीले ढुवानीको कारण देखाउँदै तोकिएको मूल्यभन्दा बढी मुल्यमा बिक्री गरिरहेका छन् । स्थानीय तहले मलको बिक्री बितरण, मूल्यमा एकरुपता, अनुगमन गर्न निर्देशिका जारी गरी कार्यान्वयन गर्नु अति आवश्यक रहेको किसानको माग छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!