गान्तोक, 21 जनवरी। दक्षिण सिक्किमको लोअर जङ्गूको हिग्येथाङस्थित ग्नोन-सान्दोङ गाउँमा आजदेखि दुई दिने छलुम दम्रो (सुन्तोला महोत्सव) आरम्भ भयो। छलुम दम्रो इको टुपिजम फेष्टिवल कमितीद्वारा आयोजित कार्यक्रम एसबीएफबी-जाइका इकोटुरिजम डिविजनको संयुक्त पहलमा गरिएको हो। 21 अनि 22 जनवरीको दिन हुने यस महोत्सवको उद्घाटन कार्यक्रममा राज्य सरकारको वन विभागका सीसीएफ बीपी प्रधान मुख्य अतिथि थिए।
आफ्नो सम्बोधनमा उनले सिक्किमको पर्यावरण अनि यहाँको वन्य जन्तुको संरक्षण जनताको मुख्य दायित्व रहेको जानकारी गराए। मुख्य अतिथिले यस कार्यक्रमले यहाँको पर्यावरणको चिन्हारी र यसको संरक्षणमा प्रमुख भूमिका निर्माण गर्नसक्ने प्रबल सम्भावना रहेको पनि भाव व्यक्त गरे। उनले कार्यक्रम आयोजन समितिलाई बधाई दिँदै कार्यक्रममा सहभागि कलाकारहरूलाई बधाई अनि शुभकामना दिए।
यस अवसरमा लेप्चा पारम्परिक खेल जसमा लट्ठा तान्ने, सुन्तोला खाने, छेलो फ्याँक्नेजस्ता खेलहरू राखिएको थियो। यसरी नै लेप्चा जातिको पारम्परिक खाद्यान्नको पनि प्रदर्शन प्रतिस्पर्धा राखिएको थियो। कार्यक्रम आयोजन समितिले पर्यटकहरूको निम्ति बर्ड वाचिङ, बटरफ्लाई साइटिङ, भिलेज वक, आर्ट अनि क्राफ्टको एग्जिविसन र सार्वजनिक क्रियाकलापको कार्यक्रम राखिएको थियो। प्रतियोगिता अनि कार्यक्रममा जङ्गू बाहिरका अनि स्थानीय मानिसहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा स्थानीय कलाकारहरूले नेपाली, लेप्चा अनि भोटिया नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगितामा भाग लिने कलाकारहरलाई आयोजक समितिले पुरस्कार पनि प्रदान गरेको थियो।