हिमाल पारीको गाउँ लिमीमा हिम पहिरोमा पनि दुई वटा हिम चितुवा मरेका छन्। ओढारमा बसेको बेला माथिबाट आएको हिम पहिरोले छोपेर दुई वटा हिम चितुवामा बच्चा मरेका हुन्। नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको तील गाउँनजिकको दोम्वाल्यमा माथिबाट आएको पहिरोमा पुरिएर दुई वटा हिम चितुवाका बच्चा मरेको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।
ती चितुवा केही अगाडि मरेको र लिमीमा गठन गरिएको वन्यजन्तु संरक्षण समितिले पत्ता लगाएको उहाँले बताउनुभयो। समितिले हिम पहिरोमा पुरिएर च्यापिएको अवस्थामा फेला पारे पनि छाला हड्डी काम नलाग्ने अवस्थामा रहेको बताउनुभयो। हिम चितुवा पहिरोमा पुरिएर मरेको खबर आउनेबित्तिकै कर्मचारी लिमी पठाउन लागेपनि समिति र वडाले केही काम नलाग्ने जानकारी गरेपछि कर्मचारी नगएको डिभिजन वन कार्यालय प्रमुख निरज झाले बताउनुभयो। दुर्लभ मानिने हिम चितुवा लिमीमा भने धेरै छन्।