हुपेइ प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारको तयारी
कोरोनाको महामारी फैलिएको चीनको हुपेइमा रहेका नेपालीलाई घर फर्काउन नेपाल सरकारले तयारी थालेको हो। सरकारले भाइरसको महामारी फैलिएको हुपेइ प्रान्तमा रहेका नेपालीलाई लक्षित गरी चार्टर विमान तयारी हालतमा राखेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनबाट नेपालीलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमका दुई जहाज तयारी हालतमा राखिएको बताउनु भएको नागरिक अनलाइनले लेखेको छ।
बेइजिङस्थित नेपाली दूतावासले पनि हुपेइमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन विमानको व्यवस्था गरिने जनाएको छ। दूतावासले शनिबार सार्वजनिक सूचनामार्फत विमानबाट नेपाल फर्कन इच्छुक व्यक्तिलाई फारम भर्न अनुरोध गरेको छ। दूतावासले आइतबार बिहान ९ बजेसम्म फारम भर्ने म्याद तोकेको छ। नेपाल फर्कन चाहनेहरुको आवेदनका आधारमा विशेष उडानको विवरण तय हुने दूतावासले जनाएको छ।
उडानपूर्व विमानस्थलमा गरिने स्वास्थ्यजाँचको नतिजाबाहेक सूचनामा भनिए बमोजिमको आवश्यकता पूरा गर्न नसके कानुनबमोजिम कारबाही भोग्नुपर्ने चेतावनी दूतावासले दिएको छ। चीनले भने नेपाली नागरिकको सुरक्षाको ग्यारेन्टी आफूहरुले गर्ने बताएको छ। नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्तिमार्फत चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने दाबी गरेको छ।
कोरोना भाइरसको संक्रमण अहिले नेपालसहित भारत, श्रीलंका, जापान, थाइल्यान्ड, सिंगापुर, हङकङ, दक्षिण कोरिया, भियतनाम, मकाउ, युएई, अष्ट्रेलिया, ताइवान, मलेसिया, फ्रान्स, स्पेन, जर्मनी, बेलायत, इटाली, अमेरिका, क्यानडा, कम्बोडिया र फिनल्यान्ड गरी २५ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
यता चीनबाट त्रिभुवन अन्तर्राट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्नेलाई स्वास्थ्य परीक्षण गरेर मात्र आफ्नो गन्तव्यमा जान दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विमानस्थलमा रहेको हेल्थ डेस्कमार्फत यात्रुको नियमित स्वास्थ्य परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो। स्थलमार्ग हुँदै नेपाल छिर्ने व्यक्तिहरुलाई पनि परीक्षण गरेर मात्र नेपाल भित्रिने व्यवस्था मिलाएको उहाँको भनाइ छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको विश्वव्यापी संकट घोषणा गरेसँगै मन्त्रालयले उच्च सतर्कताका साथ तयारी थालेको प्रवक्ता श्रेष्ठको दाबी छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालको नेतृत्वमा अनुगमन समिति बनाएर नियमित काम गरिरहेको मन्त्रालयले जनाएको छ।
तपाइँकाे प्रतिक्रिया
