Loading... आजः शनिबार , श्रावण १२, २०८१

2024 मा एसडीएफ पार्टी पुन: सरकारमा फर्किएर आउनेछ: पवन चामलिङ


गान्तोक, 04 मार्च । सिक्किमका पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले 1993 मा एसडीएफ पहिलो चरणको क्रान्तिमा थियो भने अब दोस्रो चरणको क्रान्तिमा अग्रसर बनेको बताएका छन्। उनले 2024 मा एसडीएफ पार्टी पुन: सरकारमा फर्किएर आउने दाबी पनि दोहोराए। चामलिङ बुधवार एसडीएफको 28औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै थिए। इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चामलिङले 2024 मा फेरि एसडीएफको सरकार गठन गरेर 50 वर्षसम्म चलाउनुपर्छ भन्दै पार्टी कार्यकर्ताहरूको हौसला बढ़ाए। उनले पार्टी कार्यकर्ताहरूलाई आगामी चुनाउमा 32 मा 32 सीट जित्ने अभियानमा लाग्ने आह्वान पनि गरे। उनले एसडीएफ आजदेखि ‘ग्रासरुट’ को पार्टी बनेको घोषणा नै गर्दै एसडीएफको 25 वर्षको कार्यकालमा केवल नेताहरू शक्तिशाली बनेको, तर अब एसडीएफ जनतालाई शक्तिशाली बनाउने अभियानमा लाग्ने बताए। अर्कोतिर, एसडीएफ अध्यक्ष चामलिङले आफ्नो सम्बोधनमा आफुले चाहेको खण्डमा बीचैमा सरकार ल्याउनु सक्ने पनि दाबी गरे। यस्तो अवसर आयो भने अब पछि नहट्ने सोचेको पनि उनले बताए। यस अतिरिक्त एसकेएमले आफुमाथि भ्रष्टाचारको आरोप लगाउने गरेको जिकिर गर्दै उनले एसडीएफ सरकारको 25 वर्षको कार्यकालको सीबीआई जॉंच गराउने चुनौती दिए। यसैगरी, एसडीएफले आफ्नो सरकारमा के—कति लोन लियो, त्यस सम्बन्धमा पनि श्वेतपत्र जारी गर्न एसकेएम सरकारलाई उनले चुनौती दिए। लिम्बू तामाङको सीट आरक्षणबारे बोल्दै एसकेएम सरकारले कहिले पनि लिम्बू तामाङको सीट आरक्षण गर्नु नसक्ने उनले ठोकुवा गरे। सीट आरक्षणको निम्ति केन्द्रमा पहिला फर्मूला बताउनुपर्छ, तर वर्तमान सरकारसित यस्तो कुनै फर्मूला अहिलेसम्म नरहेकोले सीट आरक्षण सम्भव नरहेको उनले बताए। उनले पूर्व सरकारलाई गाली गर्नुको साटो सीट आरक्षणको निम्ति फर्मूला तयार पारेर काम गर्ने सुझाउ दिए। सिक्किम उच्च न्यायालयद्वारा सीआईआई मामिला विषय सुनाएको फसेलाबारे बोल्दै चामलिङले एसकेएम सरकारमाथि धारा 371एफ उड़ाएको आरोप लगाए। उनले सामाजिक सञ्जालमा सरकार विरूद्ध लेख्ने एसडीएफ कार्यकर्ताहरूलाई पुलिसले पक्राउ गरिरहेको बताउॅंदै सिक्किममा पुलिसराज चलिरहेको र सरकारले पुलिसको दुरूपयोग गरिरहेको आरोप लगाए। आफ्नो सम्बोधनको क्रममा उनले एसडीएफ पार्टीको इतिहास अनि 25 वर्षका कार्यकालमाथि प्रकाश पार्दै यदि आफुलगायत पार्टी नेतृत्वहरू कहीं कतै गल्ती गरेको छ भने क्षमा दिने अनुरोध पनि गरे। तर, यदि एसडीएफ सरकारले सिक्किम अनि सिक्किमे जनताको निम्ति राम्रो काम गरेको छ भने जनताले न्याय पनि दिनुपर्ने उनले बताए। कार्यक्रममा धारा 371एफ को सुरक्षा, 11 जातगोष्ठिको जनजाति मान्यता मामिला, कर्मापा, आयकर आदि विषय आठवटा प्रस्ताव पनि पारित गरियो। कार्यक्रमको शुभारम्भ एसडीएफ अध्यक्षद्वारा केक काटेर गरिएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!