Loading... आजः शनिबार , श्रावण १२, २०८१

वडाध्यक्षको ‘पावर देखाउन’ सुकुम्वासीको घरमा डोजर


जनप्रतिनिधिको अधिकार दुरुपयोगको एउटा नमूना नेपालगन्जमैं । नजिकैको सरकारमा बसिरहेकाहरुबाट जब व्यक्तिगत स्वार्थ प्रेरित काम हुन्छ भने तीबाट शासित जनताको अवस्था के होला ? त्यसका लागि नेपालगन्ज– २० नयाँवस्तीका दुई परिवारले झेलेको संकटनै एउटा उदाहरणका रुपमा नियाल्दा धेरै कुरा प्रष्ट हुन्छ ।

दशकौंदेखि सुकुम्वासी बस्तीमा आश्रय लिंदै आएका गरिब परिवारको घरमा स्थानीय सरकारले डोजर लगाएको छ । पीडित परिवारका अनुसार, छिमेकीलाई बाटो दिलाउने विषयमा चलेको विवादमा आफ्नो ‘पावर देखाउन’ डोजर लगाएर स्वार्थ सिद्ध गरिएको हो । यसले छिमेकीबीच कटुता पनि बढेको छ ।
सुकुम्बासी वस्तीमा छिमेकी छब्बन मनियारको घरका लागि बाटो दिने क्रममा उत्पन्न विवादमा अनुचित रकम माग गरेका वडाध्यक्ष कृष्ण कार्कीले रकम दिन नसक्ने बताएपछि ‘पावर देखाइदिने’ धम्की दिएको पीडित परिवारको दावी छ । अनुचित रकम समेत माग गरेको दावी रज्जा मनिहारको छ । यसबारे कार्कीको धारणा बुझ्न दैनिक नेपालगन्जको सम्पर्क प्रयास सफल हुन सकेन ।
दुई साताअघि नेपालगन्ज उपमहानगरपालिकाको दलबलसहित वडाध्यक्ष कार्की सुकुम्बासीका झुपडीमा पुग्दा महिलाहरुमात्रै रहेकाले प्रतिवाद गर्न सकेनन् । ‘कम्तिमा केही समय त दिनुपथ्र्याे नि !’, साहिर अली मनिहारले दैनिक नेपालगन्जसँग भने, ‘निकै उग्ररुपमा आएका उनीहरुले घरका दुई झुपडीलाई डोजर लगाएर चक्नाचुर गरिदिए ।’ त्यो बेला आफु रुनु कराउनु बाहेक केही गर्न नसकेको दुखेसो सुनाउँदै रज्जा अली मनिहारको भनाइ थियो, ‘रकम दिन नमानेकै कारण हाम्रो घर भत्काइएको हो ।’
भत्काइएको घरको थुप्रो दुई सातादेखि उस्तै छ । डोजर भत्काइएको घरसँगै भत्किएको छिमेकीको मन पनि उस्तै छ । ‘मलाई स्थायी बाटो चाहिएकोले नगरपालिकामा गुहार लगाएको हुँ,’ छब्बनले दैनिक नेपालगन्जसँग भने, मेरो रिक्सा छ, कम्तिमा त्यो रिक्सा घर पुग्ने दुई मिटरको बाटो मागेको छु, कताबाट दिने सरकारको कुरा हो ।’
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० ले भने मुल बाटोबाट छब्बन मनिहारको घर जान ४ मीटरको बाटो दिने पहल गरेको छ । त्यो पनि छिमेकीको घरको आगनबाट । त्यसैक्रममा घर भत्काएर बाटो बनाउन थालेको वडाले छिमेकीबीच पनि कटुता उत्पन्न गराएको छ । ‘घर भत्काएर बाटो मागेको होइन, मलाई बाटो चाहिएको हो,’ छब्बनले भत्काइएपनि बाटो अझै नपाएको भन्दै गुनासो गरे, ‘पहिलेदेखि प्रयोग गर्दै आएको बाटो पनि रोकिएको छ ।’
छिमेकीले छब्बनलाई घर पछाडीबाट दुई मीटरको बाटो दिन तयार छ । ‘घरबीचबाट बाटो दिन सकिंदैन, पहिलेदेखि प्रयोग हुँदै आएको घर पछाडीको बाटो दिन सहमति दिएका थियौं,’ सहनाज र रज्जा दुबैको भनाइ छ, ‘एकाएक ४ मीटर अनि हामीहरुको घर अगाडीबाटै लैजाने भन्दै डोजर लगाएर नोक्सान बनाएपछि समस्या बढ्यो ।’

वडाध्यक्ष कार्कीले किन त्यसरी सहमति बीच पनि समस्या सिर्जना गरे ? छिमेकी भन्छन्, ‘स्थानीय सामुदायिक विद्यालयमा भएको रकम चलखेलको विवाद चरमोत्कर्षमा पुगेपछि बाझिएको स्वार्थ र उत्पन्न रिसइबी ।’ उनीहरु छब्बनलाई बाटो दिने भन्दा क्षति पु¥याएर स्वार्थ सिद्ध गर्न वडाध्यक्ष कार्कीले ‘खेल खेलेको’ दावी गर्छन । ‘मेरो बदला लिन मेरा आफन्तको घरमा डोजर लगाइयो,’ असल छिमेकीको काँधमा बन्दुक राखेर कार्कीले बाटो दिने मनसाय भन्दा बदला लिन क्षति पु¥याउने स्वार्थ सिद्ध गरेको गुनासो गर्दै साविकको सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरअली मनिहारले दैनिक नेपालगन्ज सँग भने, ‘मसँगको बदला लिन वडाध्यक्ष कार्कीले घृणित खेल खेले, मसँग नसकेपछि मेरो आफन्तसँग बदला लिए ।’
नेपालगन्ज– २० नयाँवस्ती अधिकाँश भूमिहीन सुकुम्वासीहरुको आश्रय हो । ‘हामी अधिकाँश सुकुम्बासीनै छौं,’ स्थानीयवासीहरु भन्छन्, ‘त्यही निहुँमा जनप्रतिनिधिहरु हामीलाई सताउने विभिन्न बहाना खोज्ने गरेका छन् ।’ मनिहार परिवारको विवादमा पनि वडाध्यक्ष कार्की त्यही सताउने खेल पुनरावृत्ति गरेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले छब्बनको घरका लागि बाटो दिने निर्णय गरिएको बताइन् । ‘तर, घर भत्काउने निर्णय गरिएको होइन, यसबारे मेयर साबले सकारात्मक पहल लिनु भएको थियो,’ उपप्रमुख थापाले दैनिक नेपालगन्जसँग भनिन्, ‘थप कुरा उहाँबाटै बुझ्न सकिन्छ ।’ समझदारीबाट निकास दिने पहल आफुहरुले लिएको उपप्रमुख थापाले प्रष्ट पारिन् ।

Insert your Ads code here

स्राेतः नेपालगंजन्यूज

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!